पर्सा । वीरगञ्जमा भइरहेको नेकपा एमाले पर्साको जिल्ला अधिवेशन अनिश्चित कालका लागि स्थगित भएको छ ।
पर्सा एमालेमा नेतृत्व चयनका लागि सहमति जुट्न नसकेपछि जिल्ला अधिवेशन अनिश्चित कालका लागि स्थगित भएको हो । मंगलबार उद्घाटन सम्पन्न भएसंगै नेतृत्व चयनका राति नै बन्द सत्र सुरु भएको थियो । तर बन्द सत्रमा नेतृत्वमा सहमति जुट्न सकेन । नेतृत्व निर्वाचन प्रक्रियामा लैजाने वा सहमतिको वातावरण बनाउने निर्क्यौल नभएपछि अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
बन्द सत्रमा जिल्ला अध्यक्ष प्रभु हजराले राजनैतिक प्रतिवेदन, सचिव मनोज गुप्ताले सांगठनिक प्रतिवेदन र सन्तोष पासवानले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने सबै प्रतिवेदन संशोधनसहित पारित समेत भएको थियो ।
अध्यक्ष मण्डलका अध्यक्ष प्रभु हजराले सहमतिको आधारमा सर्वसम्मतले पदाधिकारी तथा सदस्य चयन गर्न अधिकार अध्यक्ष मण्डललाई दिन प्रतिनिधिहरू समक्ष प्रस्ताव राखेपनि बन्दसत्रमा सोको विरोध भएको थियो ।
नेतृत्व चयनको प्रक्रियामा सहमति नभएपछि बन्द सत्र स्थगित भएको जनाइएको छ ।
पर्सा जिल्लाबाट ७ सय ८५ जना प्रतिनिधि सहभागी छन् । बन्दसत्र हलबाट बाहिर निस्किने क्रममा प्रतिनिधिहरुले अध्यक्ष मण्डलको विरोधमा प्रदर्शन गरेका थिए । विरोधपछि अध्यक्ष मण्डलका अध्यक्ष हजराले अधिवेशन अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको सूचना टाँस गरेका थिए ।
पूर्वसांसद विचारी यादव, जिल्ला सचिव मनोज गुप्ता, संविधानसभा सदस्य जयप्रकाश थारु, महानगर कमिटी सचिव सुन्दर कुर्मी, विश्वम्भर शर्मा र नवराज शर्मा गरी ६ जना जिल्ला अध्यक्षका आकांक्षी छन् ।