काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लिपुलेकमा भारतीय पक्षले सडक निर्माण गरिरहेको विषयप्रति आपत्ति जनाएको छ।
एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले एक विज्ञप्ति जारी गर्दै नेपाली भू–भाग (लिपुलेक, लिम्पियाधुरा)मा सडक लगायतका संरचना निर्माणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्याउने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्ने पनि भट्टराईद्वारा जारी वक्तव्यमा भनिएको छ।
'सडकलगायत संरचना निर्माण रोकिनुपर्छ, वार्ताको माध्यमबाट यस विषयलाई अविलम्ब टुङ्ग्याइनुपर्छ र वार्ताबाट समाधान नखोजिँदासम्म राज्यस्तरबाट कुनै पनि संरचना बनाइनुहुन्न भन्ने नेकपा (एमाले) को अविचलित मान्यता छ,' भट्टराईद्वारा जारी वक्तव्यमा भनिएको छ।
कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालका अभिन्न भूभागका रुपमा रहेका र गत वर्ष नै राजनीतिक(प्रशासनिक नक्सा एवं संविधान संशोधनमार्फत् नेपालले यस विषयमा आफ्नो कानुनी एवं राजनीतिक अडान स्पष्ट पारिसकेको तथ्य सर्वविदितै रहेको वक्तव्यमा उल्लेख छ।
राष्ट्रियतासँग सम्बन्धित यस्तो गम्भीर विषयमा वर्तमान सरकारले सन्देहास्पद मौनता साधेको भन्दै एमालेले सरकारको मौनाताले अनेकौं प्रश्न जन्माएको बताएको छ।
'हाम्रो पार्टी यस विषयमा भारतसंग अविलम्ब गम्भीर संवाद गर्न, सबैखाले बलमिच्याई रोपन लगाउन र नेपाली भूभागमा नेपालको व्यवहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न सरकारसंग माग गर्दछ,' वक्तव्यमा भनिएको छ।