काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनमा मेडिकल कलेजहरूले लिएको शुल्कका सम्बन्धमा विद्यार्थी संगठनहरुले गराएको ध्यानाकर्षणलाई गम्भीरतापूर्वक लिएको बताएका छन् ।
सात विद्यार्थी संगठनले मन्त्रालयमा बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै गृहमन्त्री खाणले यस सम्बन्धमा परामर्श लिएर अगाडि बढ्ने बताए। नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अखिल छैठौं लगायतका विद्यार्थी संगठनले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै उनले शिक्षा मन्त्रालयमार्फत् यो विषय आएमा आफूहरूलाई सहज हुने बताए।
उनले शिक्षामन्त्रीलाई पनि ध्यानाकर्षण गराउन समेत विद्यार्थी नेताहरूलाई आग्रह गरे। ‘तपाईंहरूले गराएको ध्यानाकर्षणलाई मैले गम्भीरताफूर्वक लिएको छु । हामी परामर्श लिएर अगाडि बढ्छौं,’ गृहमन्त्री खाणले भने, ‘शिक्षा मन्त्रालयलाई पनि ध्यानाकर्षण गराउनु भयो र त्यहाँबाट पत्र आयो भन्ने हामीलाई सहज हुन्छ। यही ध्यानाकर्षण शिक्षामन्त्रीलाई गराउनुस्।’
विद्यार्थी संगठनहरूले चिकित्सा शिक्षा अन्तर्गत एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनमा नोबेल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, मणिपाल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिएर ज्यादती गरेको भन्दै छानबिन गरी दोषी भेटिए कारबाही गर्न माग गरेका छन्।