चितवन । जिल्लामा १८ वर्ष माथिका ९० प्रतिशतले कोभिड–१९ विरुद्धको खोप लगाएका छन्। ती उमेर समूहका चार लाख हाराहारी जनसङ्ख्या रहेका जिल्लामा तीन लाख ७० हजार ५४४ जनाले खोप लगाएका हुन् ।
पहिलो मात्रा लगाएकामध्ये तीन लाख २० हजार नौ जनाले पूर्ण मात्रामा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख दीपकप्रसाद तिवारीका अनुसार पहिलो मात्रा कोभिसिल्ड ४० हजार ४४३ , भेरोसेल दुई लाख ३७ हजार ६०२ ,एष्ट्राजेनिका ५१ हजार ९६२ , फाईजर बायोएनटेक एक हजार ८६७ र जोन्सन ३८ हजार ६७० जनाले लगाएका छन्। जोन्सन भने एक मात्रा लगाएपछि पूर्ण हुने र अन्य खोप दुई मात्रा लगाउनुपर्ने उनले जानकारी दिए।यसैगरी पूर्ण मात्रा खोप कोभिसिल्ड / एष्ट्राजेनिका ८२ हजार ८५३ , भेरोसेल एक लाख ९६ हजार ७२९ , जोन्सन ३८ हजार ६७० र फाईजर बायोएनटेक एक हजार ७५७ जनाले लगाएका छन्।
पहिलो मात्रा लगाएको तर दोस्रो मात्रा लगाउने समय भइनसकेको सङ्ख्या २० हजार हाराहारी छ। कतिपय पहिलो मात्रा यहाँ लगाएर अन्य जिल्लामा गएर दोस्रो मात्रा खोप लगाउने गरेको उनको भनाइ छ। पछिल्लो समय जिल्लामा अभियानका रुपमा खोप कार्यक्रम सञ्चालन हुँदै आएको छ। जिल्लाका सातै पालिकाले हप्तामा एक दिन खोप लगाउने व्यवस्था गरेका छन्। १८ वर्षमाथिका सबैले खोप लगाउन पाउने गरी व्यवस्था गरिएको कार्यालयले जनाएको छ। विदेश जानेहरुको हकमा भिसा देखाएपछि सम्बन्धित पालिकाबाटै एक मात्रा लगाए पुग्ने जोन्सन खोप लगाउने व्यवस्था गरिएको छ। विदेश जानेहरुको सङ्ख्या पनि ठूलै रहेको उनको भनाइ छ।
जिल्लामा १८ वर्षमाथिको जनसङ्ख्या चार लाख हाराहारी रहेको अनुमान गरिएको छ। यस हिसाबले खोप लगाउन बाँकी सङ्ख्या न्यून देखिन्छ। तर जिल्लामा व्यापार व्यवसाय गर्न, पढ्न र कामको खोजीमा आउनेको सङ्ख्या अधिक रहेको छ। कार्यालयका प्रमुख भने, पछिल्लो समय खोप लगाउन आउने बाहिरी जिल्लाबाट यहाँ आएका विद्यार्थी, कामदार, मजदूर बढी देखिएका छन्।,
यसैलाई लक्षित गरी खोप कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गरिएको तिवारीले बताए। उनले खोपको अभाव नरहेको जनाउँदै भने, जिल्लामा खोपको अभाव छैन, माग बमोजिम समयमै खोप आइरहेको छ।, पछिल्लो समय माग गरेको छोटो समयमा नै खोप आइपुग्ने गरेको उनले जानकारी दिए।