काठमाडौं । विश्वमै पहिलो पटक मानव शरीरमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको छ। अमेरिकाको बाल्टिमोरमा एक अमेरिकी नागरिकमा आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गरिएको हो।
समाचार संस्था रोयटर्सका अनुसार सात घण्टा लामो शल्यक्रियापछि ५७ वर्षीय डेभिड बेनेटमा मुटुको प्रत्यारोपण सफल भएको हो । शल्यक्रियामा युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिसिनको टिम संलग्न थियो।
शल्यक्रियामा संलग्न चिकित्सकहरूले बेनेटको स्वास्थ्य अवस्थामा सुधार आइरहेको बताएका छन्। बेनेटको जीवन बचाउन यो नै अन्तिम विकल्प रहेको बताइएको थियो । सुँगुरको मुटु प्रत्यारोपणपछि उनको आयु कति लम्बिन्छ भन्ने यकिन भएको छैन ।
शल्यक्रियाअघि बेनेटले भनेका थिए, ’गर वा मरको अवस्थामा प्रत्यारोपण गर्न लागेको हुँ । म बाँच्न चाहन्छु । यो एउटा अँध्यारोमा हानिएको गोलीजस्तै हो । मसँग अरु विकल्प छैन।’ मेरिल्यान्ड युनिभर्सिटीले शल्यक्रियाका लागि अमेरिकी नियामक निकाय खाद्य तथा औषधि प्रशासन(एफडीए) सँग आकस्मिक अनुमति लिएको थियो।
शल्यक्रियामा संलग्न चिकित्सक डाक्टर ब्राट्ली ग्रिफिथले चिकित्सा विज्ञानमा अभूतपूर्व सफलता प्राप्त भएको बताएका छन्। उनले भनेका छन्, ’यो अभूतपूर्व शल्यक्रिया हो । यसले मानव अंग प्रत्यारोपणमा देखिएको संकट समाधान हुन सक्छ।’ निकै सावधानीपूर्वक शल्यक्रिया सम्पन्न भएको र यसले भविष्यमा बिरामीको आयु लम्ब्याउन सहयोग पुग्ने पनि उनको भनाइ छ।
अहिले पनि १ लाख १० हजारको हाराहारीमा अमेरिकामा अंग प्रत्यारोपणको पर्खाइमा रहेका छन् । अर्ग्यानडोनर डट जीओभीका अनुसार अमेरिकामा बर्सेनि ६ हजारभन्दा बढी अंग प्रत्यारोपणको पर्खाइमा रहेका व्यक्तिको मृत्यु हुने गर्छ। बेनेटमा भर्जिनियास्थित रिजेनेरेटिभ मेडिसिन कम्पनी रेभिभिकोरले आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु उपलब्ध गराएको हो । चिकित्सकहरूका अनुसार सुँगुरको मुटु र मानिसको मुटुमा धेरै समानता हुनाले प्रत्यारोपण सफल भएको हो ।
सुँगुरका अन्य अंगहरू मिर्गौला, कलेजो र फोक्सो पनि मानिसमा प्रत्यारोपण गर्न सकिने/नसकिनेबारे अनुसन्धान भइरहेको छ। यसअघि आनुवंशिक भिन्नताका कारण सुँगुरको मुटु प्रत्यारोपण सफल भएको थियो । यस पटक भने वैज्ञानिकहरूले हानिकारण जिनहरू सम्पादन गरेर हटाएका थिए । त्यसपछि मात्रै प्रत्यारोपण सफल भएको बताइएको छ।