काठमाडौं । प्रधानमन्त्री (पीएम) कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा आज चार खेलहरु हुँदैछन् । प्रतियोगिता अन्तर्गत आज टियु क्रिकेट मैदानमा दुई र मुलपानी क्रिकेट मैदानमा दुई खेल हुने छन् ।
टियु मैदानमा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुबै टिम लगातार दोस्रो जितको खोजीमा रहेका छन् । पहिलो खेलमा आर्मीले कर्णाली प्रदेशलाई हराएको थियो । पुलिसले सुदुरपश्चिमलाई हराएको थियो ।
यस्तै टियुमा हुने दोस्रो खेलमा बागमती प्रदेश र एपीएफ क्लबबीच खेल हुनेछ । दुबै टोली दोस्रो जितको खोजीमा हुनेछ । बागमतीले पहिलो खेलमा लुम्बिनी प्रदेशलाई हराएको थियो ।
एपीएफले प्रदेश–२ लाई पराजित गरेको थियो । मुलपानीमा हुने पहिलो खेलमा प्रदेश–१ र कर्णाली प्रदेशबीच खेल हुनेछ । यस्तै दोस्रो खेलमा प्रदेश २ र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आर्मी क्लब, कर्णाली प्रदेश, पुलिस क्लब, सुदुरपश्चिम प्रदेश र प्रदेश नं. १ रहेका छन् । समूह ‘बी’ अन्तर्गत एपीएफ क्लब, प्रदेश नं. २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश रहेका छन् ।
दुबै समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल माघ ५ गते हुनेछ । नेपाल क्रिकेट संघ (क्यान) ले यसलाई ओमानमा हुने आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि खेलाडी छनोट गर्ने प्रतियोगिताको रुपमा समेत लिएको छ ।