काठमाडौं । वरिष्ठ चिकित्सक डा.सुन्दरमणि दीक्षितले नेपालमा कोरोनाभाइरस फैलनुमा राजनीतिक दलहरु दोषी भएको बताएका छन् । दलहरुले महाधिवेशन गर्दा संक्रमण फैलिएको उनको टिप्पणी थियो ।
सोमबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा डा. दीक्षितले सरकारले अग्रिम जानकारी हुँदा पनि धेरै राजनीतिक दललाई महाधिवेशन गर्न दिएकाले कोरोना संक्रमण फैलिएको बताए ।
दलहरुले कोरोना संक्रमणलाई गम्भीर रुपमा नलिएकाले भयावह अवस्था आइसकेको उनको भनाइ छ । आफूले सबै पार्टीलाई विधान परिवर्तन गरेर थोरै समयमा महाधिवेशनको काम सक्न सल्लाह दिए पनि सुझाव कार्यान्वयन नगरेको उनले बताए ।
ओमिक्रोन भेरियन्ट बढ्दै गएमा अस्पतालले धान्न नसक्ने उनले बताए । सरकारको अहिलेको पहिलो प्राथमिकता भनेकै बालबालिकाहरुलाई खोपको व्यवस्था गर्नु हो भन्दै उनले ओम्नीकाण्ड, सुनकाण्ड, ललिता निवास काण्डलाई पछि सारेर खोपको व्यवस्था गर्न आग्रह गरे ।
लकडाउन समस्याको समाधान नहुने पनि उनले प्रस्ट पारे । कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का निमित्त प्रमुख कार्यकारी अधिकारी डा.भुपेन्द्र बस्नेतले कोरोना भाइरसको संक्रमित बिरामीको चाप बढेको बताए ।
कोभिडको सामना गर्ने तयारीबारे विभिन्न चरणमा बैठक गरिरहेको जानकारी दिँदै उनले वीर अस्पतालको सर्जिकल भवनमा ५ सय बेड क्षमताको कोभिड अस्पतालको तयारी गरिरहेको बताए। उनले सबैलाई कोभिडबाट बच्न सामाजिक दूरी कायम गर्न, मास्कको प्रयोग गर्न, भिडभाडमा नजान, सभा सम्मेलन नगर्न पनि आग्रह गरे ।
भाइरस विज्ञ डा.रमेश आचार्यले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन डेल्टा भेरियन्ट भन्दा एकदमै चाँडो फैलिरहेको बताए ।
नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाएको मध्ये पनि कति प्रतिशत एन्टीबडी उत्पादन भयो त्यो कसैलाई थाहा नभएको भन्दै उनले खोप लगाएकाहरु पनि सचेत हुनपर्ने बताए ।
उनले ओमिक्रोनको नियन्त्रण लकडाउन मात्र नभएको बताए। लकडाउन गरेर आफ्ना जनतालाई सुरक्षित राख्न सकेको देश चाइनामात्रै भएको बताउँदै डा.आचार्यले अरु देश लकडाउनमा असफल भएको बताए। उनले दलहरुको महाधिवेशनबाट कोरोना संक्रमण फैलिएको बताए।