काठमाडौं । पछिल्लो समय विभिन्न दलालमार्फत भिजिट भिसामा दुबई पुगेका १ सय १८ नेपालीको बिचल्लीमा परेका छन् । युएईको दुबईलगायत अन्य खाडी मुलुक भिजिट भिसामा जाने नेपालीको संख्या ह्वात्तै बढेसँगै विभिन्न समस्याहरू पनि निम्तिन थालेका छन् ।
नेपालमा बेरोजगार बनेका नेपाली युवाहरु राम्रो तलब र काम पाइने आशामा दलाललाई लाखौँ रकम तिरेर खाडी मुलुक छिरिरहेका छन् । यसरी अलपत्र पर्नेहरुमा नेपाली सेनाका जागीर छोडेर दुबई पुगेका छन् भने उनीहरुलाई भिजिट भिसामा त्यहाँ पु¥याएर बिचल्लीमा पर्ने मुख्य एजेन्ट दुबईमा रहेको त्रिनेत्र कन्सल्टेन्सीका मालिक कोमलराज उपाध्याय रहेको पीडितहरूले बताएका छन् ।
एजेन्ट उपाध्याय लगायतको ठूलो गिरोहले पिडितहरुलाई राम्रो रोजगारी दिलाइदिने भन्दै जनही प्रतिव्यक्ति १ लाख ७० हजार देखि ८ लाख रुपैयाँसम्म लिएर आफूहरूलाई दुबई ल्याएको र अहिले अलपत्र अवस्थामा छाडेको बताएका छन् ।
ती नेपाली युवाहरुले अहिले आफूहरु युएईकाे दुबई, बरदुबइ, सारजा क्षेत्रमा अलपत्र अवस्थामा रहेकाले आफूहरुलाई जतिसक्दो उद्धार गर्न याचना गरेका छन् । कतिपय नेपालीहरू महिनैदेखि कामविहीन भएर बस्दा भिजिट भिसाको म्याद सकिएको र ओभरस्टे हुँदा जरिवानामा समेत पारिएको दुखेसो पोखेका छन् ।
कुनै पनि बहानामा काम गर्ने उद्देश्यले भिजिट भिसामा दुबई नआउन आग्रह गर्दै नेपाल एसाेसियसन युएईका युवा संयाेजक भिम मल्ल ठकुरीले भिजिटमा यहाँ आएर अलपत्र परेका १ सय १८ जना युवाहरूले आफूहरुलाई दलालले फसाएको भन्दै उद्धार गर्न आग्रह गरेकाले आवश्यक समन्वय गरिएकाे बताए ।
यता, यूएईस्थित नेपाली दूतावासले भने यसअघि विभिन्न समयमा सूचना जारी गर्दै भिजिट भिसामा कामका लागि नआउन आग्रह गरेपनि भिजिट भिसामा त्यहाँ पुगेर अलपत्र पर्ने क्रम बढ्दो छ ।
दूतावासले कसैको ललाइफकाइ वा आश्वासनमा पारेर रोजगारीको अपेक्षासहित भिजिट भिसामा युएई नआउन र प्रचलित कानुन बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा आउन नेपाली कामदारहरुलाई अनुरोध गरिरहेको छ ।
यसअघि नै दूतावासले पछिल्ला दिनहरुमा नेपालीहरु भिजिट भिसामा युएई आएर रोजगारीको खोजी गर्ने गरेको अनौपचारिक जानकारी प्राप्त भएको र त्यसरी आउनेहरु ठगीमा परेको, रोजगारी नपाएर अलपत्र परेका वा विभिन्न समस्या तथा अप्ठ्यारोमा परेको भनेर गुनासो आउन थालेपछि दूतावासले सचेत गराएको थियो ।
कानूनअनुसार श्रम स्विकृति लिएर बाहेक अन्य प्रक्रियाबाट आएर कुनै समस्यामा पर्नेहरुलाई वैदेशिक रोजगार कल्याणकारी कोषबाट समेत सहयोग गर्न नसकिने स्पष्ट पारेको छ ।
भिजिट भिसामा आएर काम नपाएमा वा भने अनुसारको काम नपाएमा सम्बन्धी कम्पनी वा अन्य जिम्मेवार निकायलाई कारवाही गर्न समेत नसकिने हुनाले यसमा सजग रहन दूतावासले आग्रह गरेको छ ।