काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सोमबार (आज) देखि सुरु हुँदै छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पूर्ण सहयोगमा हुने यो प्रतियोगिताका तीन संस्करण यसअघि एकदिवसीय संरचनामा हुँदै आएको थियो ।
फेब्रुअरी १५ देखि ओमानमा हुने विश्व ट्वान्टी–२० छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान) ले यसपटक राखेपसँगको स्वीकृतिमा ट्वान्टी–२० संरचनामा आयोजना गर्न लागेको हो । विश्व ट्वान्टी–२० छनोटका लागि क्यानले प्रारम्भिक चरणमा ३० खेलाडी छनोट गरेर बन्द प्रशिक्षण सञ्चालन गर्दै आएको छ ।
यी खेलाडीले अब प्रधानमन्त्री कपमा आ–आफ्नो टोलीबाट खेल्नेछन् । प्रतियोगितामा ७ प्रदेश तथा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब गरी १० टोलीको सहभागिता रहनेछ ।
समूह ‘ए’ मा आर्मी, कर्णाली प्रदेश, पुलिस, सुदूरपश्चिम प्रदेश र प्रदेश १ तथा समूह ‘बी’ मा एपीएफ, प्रदेश २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश रहेका छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।
नेपाली टोलीका महत्त्वपूर्ण अलराउन्डर करण केसीले आर्मी छाडेर नेपाल पुलिसबाट खेल्ने भएका छन् । आर्मीकै विकेटकिपर राजु रिजालले गृहनगर सुदूरपश्चिमबाट खेल्ने भएका छन् ।
पहिलो दिन त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आर्मी र कर्णाली तथा एपीएफ र प्रदेश २ तथा मूलपानी माथिल्लो मैदानमा पुलिस र सुदूरपश्चिमाञ्चल तथा वाग्मती र लुम्बिनीका बीच प्रतिस्पर्धा हुनेछ ।