काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । उक्त प्रणालीका कारण हाल देशका अधिकांश भू–भागमा, आंशिक देखि सामान्य बदली रहेको छ । हाल कर्णाली, सुदूरपश्चिम, बागमती, प्रदेश २ र प्रदेश १ मा सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ ।
साथै सुदूरपश्चिम प्रदेशको केही भूभागमा हल्का वर्षा भइरहेको छ । पश्चिमी तथा मध्य तराईका जिल्लाहरुमा बाक्लो हुस्सु÷कुहिरो लागेको महाशाखाको भनाइ छ ।
महाशाखाका अनुसार सोमबार (आज) दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश केही स्थानहरूमा र बाँकी प्रदेशहरूका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावनासमेत रहेको छ ।
त्यसैगरी, उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ । राति पनि सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहने महाशाखाको भनाइ छ ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा र बाँकी प्रदेशहरूका एक–दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।
देशका केही भूभागमा वर्षा तथा हिमपातको सम्भावना रहेकाले देशभर चिसो बढ्ने महाशाखाको भनाइ छ । चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।