काठमाडौं । सरकारले पाँच स्थानमा सुरुङ मार्ग निर्माणका लागि प्रक्रिया सुरु गरेको छ । काठमाडौंको नागढुङ्गा र धादिङको नौबिसे सुरुङ मार्गले आकार लिन लाग्दा अरू पाँच स्थानमा सुरुङ मार्ग निर्माणका लागि सरकारले प्रक्रियासुरु गरेको हो ।
पहाडी क्षेत्रका पाँचवटा सडकखण्डमा सुरुङ निर्माण गर्ने प्रक्रिया अगाडि बढाइएको छ । बागलुङ–बिहुँ–नरेठाँटी सुरुङ मार्ग बागलुङ, फुस्रेखोला–छोरेपाटन (पोखरा)–स्याङ्जा–गुडीखोला सडक सुरुङ कास्की–स्याङ्जा, रारा राजमार्गअन्तर्गत कुशेपाटन–जाजरकोट (ब्याउलीढुङ्गा)–जुम्ला (इमलिचा खोला), प्रवाश–जोरटे (पाल्पा) र भक्तपुरको ताथली–सिन्धुपाल्चोकको रविओपी सडकमा सुरुङ निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न लागिएको हो ।
सडक विभागले ती सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्न परामर्शदाता छनोटका लागि राष्ट्रिय कम्पनीहरूसँग आशयपत्र मागेको छ । सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक प्रभात झाका अनुसार प्रस्तावित हरेक सुरुङ मार्गको सम्भाव्यता अध्ययनका लागि ५०÷५० लाख रुपियाँ खर्च गरिनेछ ।
अबको तीन महिनाभित्र कम्पनी छनोट गरिने र छनोट कम्पनीले चार महिनाभित्र सम्भाव्यता अध्ययन गरी सडक विभागलाई प्रतिवेदन बुझाउने छन् । त्यसपछि विस्तृत अध्ययनको प्रक्रिया अगाडि बढाइनेछ ।
सुरुङ मार्गको निर्माण इन्जिनियरिङ खरिद निर्माण (ईपीसी) मोडलमा गरिने निर्देशक झाले बताउनुभयो । यस मोडलअनुसार छनोट भएका कम्पनीले सुरुङ मार्ग निर्माणको ‘सर्भे, डिजाइन र जडान’ आफैँले गर्नुपर्ने हुन्छ ।
त्यसैगरी सुरुङ मार्ग निर्माण सम्पन्न भएको एक वर्षसम्म गम्भीर त्रुटि देखिए त्यसको नियमित मर्मत सम्भारको पनि जिम्मेवारी निर्माण कम्पनीको नै हुनेछ ।