काठमाडौं । भारतमा विदेशबाट आएका सबैलाई एक साता होम क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने व्यवस्था गरिएको छ । भारतको संघीय स्वास्थ्य मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै विदेशबाट आएका सवै यात्रुलाई कम्तीमा सात दिन होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ ।
विदेशबाट भारत आएकाहरु होम क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने नियम कार्यान्वयन भने यही जनवरी ११ देखि मात्रै हुने सूचनामा उल्लेख छ । कोरोनाभाइरसको महामारी दिन प्रतिदिन तीव्र रूपमा बढ्दै गएको विवरण सार्वजनिक भएपछि सरकारले एक हप्ते होम क्वारेन्टाइन अनिवार्य गर्ने व्यवस्था लागू गरेको हो ।
भारतमा कोरोनाभाइरसको नयाँ भेरिएन्टको रुपमा देखिएको र तीव्र रूपमा फैलिनसक्ने ओमिक्रोन भाइरसको सङ्क्रमण अत्यधिक बढेको छ । “विदेशबाट आएका कुल यात्रुहरूको कोरोना परीक्षण गर्दा औसतमा दुई प्रतिशत सङ्क्रमित भएको पाइएको छ, त्यसैले उनीहरु सबैलाई कम्तीमा एकहप्ता होम क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागू गर्नुपरेको हो,” वक्तव्यमा लेखिएको छ ।
भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख १७ हजार १०० सङ्क्रमित भएका छन् । मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार भारतमा कोरोना भाइरसको महामारी सुरु भएदेखि हालसम्म तीन करोड ५२ लाख २६ हजार सङ्क्रमित भएका छन् ।
भारतमा अहिले तीन हजार ७ जना ओमिक्रोनका सङ्क्रमित रहेका पनि मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । ओमिक्रोनका ती सङ्क्रमितहरुमा एक हजार १९९ जना भने कोरोना मुक्त भएका जनाइएको छ ।
भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ७१ हजार ३६३ रहेको छ । सोही अवधिमा थप ३०२ को कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।
यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८३ हजार १७८ छ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ ।