काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि पहिलो चरणमा ५ जना छानिएका छन् । यसअघि परेका आवेदनमध्ये उत्कृष्ट ५ जना छानिएको सिफारिस समितिले जनाएको छ ।
नेप्सेमा सीईओ नियुक्तिका लागि अर्थ मन्त्रालयका सहसचिव रमेश केसीको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको छ । समितिमा मन्त्रालयका सहसचिव रितेश शाक्य र विज्ञ सदस्यमा नेप्सेका पूर्वअध्यक्ष जीवनाथ धिताल रहेका छन् ।
उक्त पदका लागि नेप्सेका निमित्त सीईओ निरञ्जन फुयाल, नेप्सेकै प्रवीण पन्दाक, रमेशकुमार भट्टराई, रमेश घिमिरे, छविराज पन्त, गोविन्द दाहाल, केशवप्रसाद श्रेष्ठ, बद्रीप्रसाद प्याकुरेल, जीवन अमगाई, कृष्णबहादुर कार्की र दिपक गौतमले आवेदन दिएका थिए ।
पहिलो चरणमा कृष्णबहादुर कार्की, केशवप्रसाद श्रेष्ठ, प्रविन पन्दाक, रमेश घिमिरे र रमेशकुमार भण्डारीलाई छनोट भएका छन् । छनोटमा परेका उम्मेदवारले आइतबार बिहान र साँझ कार्यपत्र प्रस्तुतीकरण गर्नुपर्ने समितिले जनाएको छ ।
पहिलो चरणमा छानिएका ५ जनामध्येबाट कार्यपत्र प्रस्तुतीकरणका आधारमा समितिले तीन जनाको नाम सिफारिस गर्नेछ । अन्तिम तीनमध्येबाट मन्त्रिपरिषद्ले १ जनालाई चार वर्षका लागि सीईओ छान्नेछ ।
सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि नेप्सेका तत्कालीन सीईओ चन्द्रसिंह साउदले आफ्नो कार्यकाल सकिन एक महिनाअघि राजीनामा दिएका थिए ।