काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा र नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच शिष्टाचार भेट भएको छ । बिहीबार मन्त्रालयमा भएको भेटमा दुई देशबीच आपसी परस्परिक सहयोग र कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा खेल्न सक्ने भूमिकाबारे छलफल भएका मन्त्रीको सचिवालयले जनाएको छ ।
मन्त्री खतिवडाले कोभिड–१९ विरुद्धको लडाइमा नेपाललाई चिकित्सा उपकरण र आपूर्तिको महत्त्वपूर्ण सहयोगका लागि जापान सरकारलाई धन्यवाद दिएका थिए । जापानले नेपाललाई १६० वटा अक्सिजन जेनेरेटर, २५ वटा ब्लड ग्यास एनालाइजर, २५ वटा पोर्टेबल अल्ट्रासाउन्ड इमेज डायग्नोस्टिक सिस्टम र ६ वटा जापान निर्मित एम्बुलेन्स उपलब्ध गराएको छ ।
मन्त्री खतिवडाले सरकारले कोभिड—१९ महामारीको प्रभावकारी रोकथामका माध्यमबाट जनताको जीवन, जीविकोपार्जन र महामारीपछिको आर्थिक पुनरुत्थानलाई उत्प्रेरित गर्न प्राथमिकता दिएको बताएका थिए । नेपाल–जापान सम्बन्धलाई अझ सुदृढ बनाउन राजदूतको महत्त्वपूर्ण भूमिकाका लागि आभार व्यक्त गर्दै उनले दुई देश र जनताको पारस्परिक हितमा मिलेर काम गर्ने इच्छा समेत व्यक्त गरे ।
भेटका अवसरमा राजदूत युताकाले कोभिड–१९ को नियन्त्रणमा आफुहरुले सहयोग गर्दै आइरहेको र फेरि पनि सहयोग गर्न तयार रहेको बताएका थिए । यसअघि जापान सरकारले नेपाललाई कोभ्याक्स सुविधा अन्तर्गत २० करोड अमेरिकी डलरको बराबरको खोप र अहिले ८० करोड अमेरिकी डलर उपलब्ध गराउने प्रतिवद्धता जनाएको जानकारी राजदूतले दिए ।
जापानले वीर अस्पताल र परोपकार प्रसूति महिला अस्पताल पुनर्निर्माणका लागि अनुदान सहायता, त्रिवि शिक्षण अस्पताल र कान्ति बाल अस्पतालको निर्माण, विस्तार र सुधारका लागि अनुदान सहायता, क्षयरोग नियन्त्रण कार्यक्रम र प्राविधिक सहयोग परियोजनाका लागि अनुदान सहायता, नेपालको पश्चिमी क्षेत्रको स्वास्थ्य सुविधा निर्माणका लागि अनुदान सहायता जस्ता कार्यक्रममा सहयोग गरेको छ ।