काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्वच्छ ऊर्जाको प्रयोगलाई प्राथमिकता दिन ग्यास चुलोलाई विद्युतीय चुलोले विस्थापन गर्ने सरकारले नीति लिएको बताएकी छन् ।
नेपाल सौर्य विद्युत् उत्पादक सङ्घको २१औँ वार्षिक साधारणसभालाई बिहीबार धुलिखेलमा सम्बोधन गर्दै मन्त्री भुसालले विद्युत् खपत गर्ने ठूला उद्योग स्थापनार्थ प्रोत्साहन गर्ने र विद्युतीय सवारीसाधनको प्रवद्र्धनदेखि हरेक क्षेत्रमा विद्युतीय उपकरण उपयोग गर्ने नीति अगाडि बढाएको बताए। सौर्य ऊर्जा उत्पादन गर्दा लागत कम हुने र समय कम लाग्ने भएकाले ऊर्जा सङ्कट समाधानका लागि सौर्य विद्युत् सहयोगी हुने उनको तर्क थियो ।
नेपालमा पर्याप्त स्वच्छ पानीका स्रोत भए पनि त्यस्तो पानी विविध प्रयोजनका लागि उपयोग गनुपर्ने र व्यवस्थापनको चुनौती बढ्दै गएकाले सौर्य ऊर्जालाई नै व्यावहारिक बनाउँदै लैजानुपर्नेमा उनको जोड थियो।
मन्त्री भुसालले परम्परागत ऊर्जा प्रयोगकै कारण जलवायु परिवर्तन हुँदा विश्व आक्रान्त भइरहेको उल्लेख गर्दै परम्परागत ऊर्जालाई विस्थापित गर्नुपर्ने अवश्यकता रहेको औँल्याएकी छन्। नवीकरणीय ऊर्जा प्रवद्र्धनमा विश्व नै लागेको बताउँदै उनले नेपालले पनि त्यसको प्रयोगको नीतिलाई अवलम्बन गर्दै जानुपर्ने आवश्यकता रहेको बताइन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय विश्व सम्मेलन (कोप–२६)मा नेपालले गरेको प्रतिबद्धता पूरा गर्न नवीकरणीय ऊर्जा प्रवद्र्धन गर्न आवश्यक रहेको मन्त्री भुसालले उल्लेख गरिन् ।
सरकारले ऊर्जा सुरक्षाको दृष्टिकोणबाट मिश्रित ऊर्जा प्रणालीको नीति अपनाएको जानकारी दिँदै उनले दश प्रतिशत वैकल्पिक ऊर्जा सामेल गर्ने लक्ष्य लिइएको बताइन् । दश प्रतिशतको नीतिले करिब २०० मेगावाट सौर्य विद्युत् जडान गर्न सकिने मन्त्री भुसालको विश्वास छ। हाल ११० मेगावाट बराबरका सौर्य आयोजनाले विद्युत् खरिदबिक्री सम्झौता(पिपिए) गरिसकेका छन्। तीमध्ये करिब ४० मेगावाट सञ्चालमा आइसकेको छ । सरकारले घरेलु सौर्य प्रणाली, संस्थागत सौर्य प्रणाली र सौर्य चुलो तथा सौर्य ड्रायरजस्ता सौर्य तापीय प्रणालीको प्रवद्र्धन गर्दै आइरहेको उल्लेख गर्दै मन्त्री भुसालले ऊर्जामा पहुँच पु¥याउन र जनताको जीवनस्तरमाथि उठाउनका सौर्य ऊर्जाको विकासमा विशेष ध्यान दिइने बताइन् ।
मुलुकका ६ प्रदेशमा अर्धजलाशय र जलाशययुक्त आयोजना विद्युत् प्राधिकरणमार्फत अगाडि बढाउन लागिएको जानकारी दिँदै उनले ऊर्जाको गुणस्तर र सुरक्षामा महत्वपूर्ण योगदान पुग्नेगरी त्यस्ता आयोजनाको पिपिएलाई प्राथमिकतामा राखेको जानकारी समेत गराइन् ।
सौर्य विद्युत् उत्पादकले आफ्नो उपभोक्तालाई गुणस्तरीय विद्युत् सुविधा उपलब्ध गराउने र विद्युतीय सुरक्षाका विषयमा जनचेता फैलाउनेजस्ता जनताका आधारभूत विषयलाई विशेष प्राथमिकता दिनुपर्नेमा उनको जोड थियो ।