भक्तपुर । नेकपा एमाले भक्तपुर जिल्ला कमिटीका अध्यक्ष बचन देउजाले जिल्ला पार्टी नेतृत्व चयनमा देखिएको सकसपूर्ण अवस्था स्वभाविक भएको बताएका छन् ।
क्यापिटल एफ.एमको विशेष कार्यक्रममा बोल्दै देउजाले भने, ‘अधिवेशन भनेपछि नेतृत्व चयनमा सकस हुनु स्वभाविक नै हो । विगतमा पनि यस्तै नै हुन्, यो भन्दा सर्लक्कै अधिवेशन नेतृत्व चयन भएको त कहिले छ र ? अधिवेशन भनेपनि सबैलाई आफ्नो इच्छा आकांक्षा जाग्ने कुरा स्वभाविक नै भयो । अधिवेशन भएपछि यो किसिमको आन्तारिक र स्वस्थ प्रतिस्पर्धा हुनु स्वभाविक नै हो । यो हिजोको जस्तै ट्रेण्ड पनि होला । यसपाली पनि साथीहरु आकांक्षी देखिनुभएको छ ।’
भक्तपुरमा आफूले तल्लो तहदेखि नै काम गरेको अनुभव भएकाले पार्टीलाई सुदृढ र संगठित बनाउन पनि आफूले पार्टीको नेतृत्व गर्न पाउनुपर्ने देउजाले दाबी गरे । उनले भने, ‘म हिजो ग्रासरुटदेखि आएको मान्छे हुँ । म नेकपा एमालेको वडा तहको कमिटीदेखि जिम्मेवारी लिँदै अहिले जिल्लाको अध्यक्ष भएको मान्छे पनि हुँ ।’
आफूले अहिलेसम्म निर्वाचित अध्यक्षका रुपमा जिम्मेवारी नलिएको बताउँदै देउजाले आफूले विगतमा पनि पार्टीको सुदृढीकरण र एकताको निम्ति जिम्मेवारीबाट पछि हटेको बताए । उनले भने, ‘विगतमा पनि मैले आफ्नो भूमिका त्यही अनुसार प्रस्तुत गरिरँदाखेरि मैले अध्यक्ष जिम्मेवारी दाबी गर्दाखेरि पार्टीको आन्तरिक एकता सुदृढ र सहमतिको निम्ति म पछि हटेकै हुँ । म पार्टीमा रहँदा तलदेखि नै पार्टी संरचना बनाएर ल्याएको अनुभव, दुःख परिश्रम छ, त्यसैले पनि यो एक कार्यकाल मैले पार्टीको नेतृत्व गर्न पाएँ भने पार्टीलाई अझै सुदृढ र संगठित बनाउँदै आगामी दिनमा हुने तीनै तहको निर्वाचनमा विजय बनाउने भूमिका खेल्न सक्छु भन्ने आधारमा मैले पुनः एकपटक अध्यक्ष बन्नुपर्छ भन्ने लागेको छ ।’
नेकपा एमालेको तल्लो तहको नेतृत्व सर्वसम्मत रुपमा चयन हुँदै गर्दा जिल्ला नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन नभएपनि त्यसलाई अस्वभाविक रुपमा लिन नहुने देउजाले बताए । उनले अझैपनि सर्वसम्म नेतृत्व चयनको बाटो पूर्ण रुपमा बन्द भइ नसकेको बताए । उनले भने, ‘सर्वसम्मत नेतृत्व चयन हुँदैन भन्ने पक्कापक्की नै भएको त होइन । तल्ला तहको अधिवेशन सर्वसम्मत गर्नको लागि चाहिँ हामी सबै लाग्यौं । तलको तहमा धेरै प्रतिस्पर्धा गर्नुपर्ने साथीहरुको आकांक्षा पनि देखिएन । तर वडामा सर्वसम्मत भयो, नगरमा आउँदा केही प्रतिस्पर्धा देखियो भने जिल्लामा चाहिँ अझै बढी प्रतिस्पर्धा देखिने स्थिति आयो । यसको मतलब सर्वसम्मत नै हुन सक्दैन भन्ने चाहिँ होइन ।’
अहिलेको राजनीतिक परिवेशनमा नेकपा एमाले सुदृढ र संगठित भएको सन्देश दिनका लागि पनि सर्वसम्मत नेतृत्व चयन हुनु राम्रो भएको बताउँदै देउजाले भने, ‘नेकपा एमालेलाई बाहिरी रुपमा जुनखालको चुनौतीहरु आइरहेका छन् । नेकपा एमालेको शक्तिलाई निस्तेज गर्नको निम्ति एमाले बाहेकका शक्तिहरु जसरी लागिरहेका छन् । यो बेलामा नेकपा एमाले एक ढिक्का हुनुपर्छ र नेकपा एमालेले सर्वसम्मत रुपमा नेतृत्व चयन गरेर जानुपर्छ भनेर आम नेता कार्यकर्ताको भावना रहेको छ । यो ढंगले जाँदाखेरि नेकपा एमाले सुदृढ हुन सक्दछ । तर पार्टीको नेतृत्व चयन गर्ने सवालमा सधैं सर्वसम्मत हुनुपर्छ भन्ने कुरा पनि होइन । सकेसम्म हामी सबैलाई मिलाएर एकढिक्का भएर जानेछौं । यदि भएन भने पनि नेकपा एमालेभित्र सौहार्दपूर्ण अवस्थामा अगाडि बढ्छौ ।’
सर्वसम्मत नेतृत्व चयन हुन नसक्दा पनि जिल्ला नेतृत्वमा दुई प्यानल बनाएर आफूहरु नजाने देउजाले बताए । उनले भने, ‘हामी प्यानल नै बनाएर लानुपर्छ भन्नेमा छैनौं । प्रतिस्पर्धा सबैको सबैसँग होइन । प्रतिस्पर्धा केही दुई चार जनाको मात्र हो । तलका चाहिँ लगभग ८० प्रतिशतमा हाम्रो आम सहमति नै हुनसक्ने देखिन्छ ।’