काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को १५ औं कार्यसमिति बैठक बिहीबार आज बस्दैछ । एन्फाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा कार्यसमिति बैठक बोलाएको हो ।
बैठक दिउँसो १२ः३० बजेपछि सुरु हुनेछ । बैठकमा विभिन्न १९ एजेण्डामा छलफल हुने बताईएको छ ।
बैठकमा नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरुलाई पुरस्कृत गर्ने, राष्ट्रिय टिमको मैत्रीपूर्ण खेल संचालन गर्ने, सहिद स्मारक ’ए’, ’बी’ र ’सी’ डिभिजन लिग, महिला राष्ट्रिय लिग लगायतका विषयमा छलफल हुनेछ ।
यस्तै विभिन्न समिति तथा उप–समितिहरुको गठन तथा पनर्गठन, आर्थिक तथा कर्मचारी नियमावली संशोधन, राष्ट्रिय टिम बिदेश भ्रमणमा जांदाको पेश्की सम्बन्धमा र खेलाडीहरु तथा टिममा सहभागी प्रशिक्षक एवम अफिशियलहरुको सेवा सुविधा, फिफाद्धारा प्रदान गरीएका आर्थिक निर्देशन तथा अनुसन्धानको सुझावहरु, जिल्ला, प्रदेश, एन्फा प्रेसिडेन्ट कप तथा राष्ट्रिय लिगबारे, संघको नियमित साधारण, निर्वाचन निर्देशिका लगायतका विषयमा छलफल हुनेछ ।
तर, बैठकमा पूर्व अध्यक्ष गणेश थापाको पत्रले प्रवेश नपाउने भएको छ । आफुमाथि लागेको आरोपबारे एन्फा कार्यकारिणी समितिको बैठकमा धारणा राख्न माग गर्दै पूर्व अध्यक्ष थापाले एन्फाका वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई पत्र लेखेका थिए ।