काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले समाजमा विकृति र विसङ्गति नहोस् भन्नका लागि आफ्नो ठाउँबाट नै परिवर्तन गर्नुपर्ने बताएकी छन्।
आज बुधवार सुदूरपश्चिम प्रदेशबाट तालिमका लागि काठमाडौं आएका प्रतिनिधिसँगको भेटघाटमा उनले यस्तो बताएकी हुन् ।
राष्ट्रपति भण्डारीले पश्चिममा छाउपडीको समस्याले विभिन्न घटना निम्त्याइरहेको भन्दै त्यसको समाधान गर्न सबैभन्दा पहिला आफ्नो दिमागको छाउपडीको गोठ भत्काउन आवश्यक रहेको बताइन् । राष्ट्रपति भण्डारीले कतिपय ठाउँमा छाउपडीकै कारण महिलामाथि आपराधिक घटना भइरहेकाले दिमागमा जरो गाडेर बसेको छाउ गोठ भत्काएपछि मात्रै छाउपडी प्रथाको अन्त्य हुने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा राष्ट्रपति भण्डारीले आजको आवश्यकता भनेको विद्यालय शिक्षामा ठूलो सुधार गर्नुपर्ने रहेको बताइन् । उनले युवा, युवतीबीच हुने अपहरण, बलात्कारजस्ता विकृतिलाई समाजबाट न्यूनीकरण गर्न समाजिक सङ्घ–संस्थाहरूको ठूलो भूमिका रहेकाले उनीहरूले सरकारसँग मिलेर समाजका विकृति, विसङ्गतिहरू समाधान गर्नुपर्नेमा जोड दिएकी छन्।
राष्ट्रपति भण्डारीले बालबालिकाले सर्वाङ्गीण विकास पाउन र सकुशल अगाडि बढ्न शिक्षामा अग्रगामी कदम चाल्न आवश्यक रहेको बताइन् । कतिपय सरकारी विद्यालयमा पूर्वाधार कमजोर रहेको र गुणस्तर, शिक्षक र शिक्षकहरूको वृत्ति र तालिमको समस्या रहेकाले त्यसलाई समाधान गर्दै लैजानुपर्ने उनले बताइन्। विद्यालयमा सुशिक्षा दिएमा मात्रै विकृतिका चाङ न्यूनीकरण गर्न सकिने उनले उल्लेख समेत गरिन्।
महिला र पुरुष भएर नै संसार चल्ने भन्दै राष्ट्रपति भण्डारीले समाजमा महिलाप्रतिका कुसंस्कारलाई हटाएर पुरुषसरह नै अधिकार दिनुपर्ने बताइन् ।