काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं १४ औं महाधिवेशनमा सभापति पदका उम्मेदवार शेखर कोइरालाले पार्टीमा हालै भएको केन्द्रीय सदस्यको मनोनयनको आधार सार्वजनिक गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्।
बुधबार काठमाडौंमा आयोजित महाधिवेशनको समीक्षा बैठकमा उनले भने, ‘कस्तो मापदण्ड बनाएर केन्द्रीय सदस्यमा मनोनयन गरेको हो भनेर हामी जान्न चाहन्छौं। पार्टीमा न्यायोचित व्यवस्थापन हुनुपर्छ।’
उनले सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट भए दुर्घटना हुनसक्ने भन्दै विधि र विधानको बाहिर रहेर गर्ने कामविरुद्ध सबै एक ढिक्का हुनुपर्ने बताए। ‘पार्टीको निर्णय गर्ने ठाउँमा प्रभावकारी भूमिका खेल्न सक्ने अवस्था कम छ, पार्टीभित्र सबै कार्यहरु विवेकसम्मत तरिकाबाट गरियोस्,’ उनले भने।
कोइरालाले अब आउने तीनै तहका निर्वाचनको परिणाम कांग्रेसका पक्षमा पार्न देशभरका कार्यकर्तालाई आग्रह गर्दै अबको निर्वाचन कांग्रेस एक्लैले लड्ने र विजय पनि प्राप्त गर्ने बताए।
उनले पार्टीभित्र पुस्तान्तरणको आवाज केही हदसम्म पूरा भए पनि रुपान्तरणका पक्षमा आवाजहरु उठाउँदै जानुपर्ने आवश्यकता औंल्याए। ‘कुनै पनि खालको निराश भएर फर्किनुपर्ने आवश्यकता देख्दिनँ, नेपाली कांग्रेसलाई नयाँ उचाइमा पुर्याउने अभियानमा विश्राम लागेको छैन,’ उनले भने।
नेता डा कोइरालाले पार्टीमा काम गर्ने, निष्टावान र इमान्दार कार्यकर्तालाई नियोजित रुपमा पाखा लगाउने कामका विरुद्ध डटेर आवाज उठाइरहनुपर्ने पनि उनले बताए।