काठमाडौं । राष्ट्रिय सभा सदस्यको उम्मेदवारविरुद्ध बुधबार उजुरी दिन सकिने कार्यसूची रहेको छ । मंगलबार मनोनय अवधिभरमा उम्मेदवारी दर्ता गराएका ४३ जना उम्मेदवारविरुद्ध बुधबार उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।
आगामी माघ १२ गते तय भएको राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारविरुद्ध कुनै उजुरी शुक्रबारसम्म उजुरीमाथि छानबिन हुने आयोगले जनाएको छ । २४ गते उम्मेदवारको नाम फिर्ता लिने समय तोकेको आयोगले २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ ।
सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयेगले जनाएको छ । राष्ट्रिय सभामा गोलाप्रथामार्फत चारवर्षे कार्यकाल तय भएको २० सांसद आगामी २० फागुनमा बिदा हुँदै छन् ।
रिक्त रहनेमध्ये १९ जनाका लागि निर्वाचन हुन लागेको हो । एक जना भने राष्ट्रपतिका तर्फबाट मनोनीत हुनेछन् ।
प्रदेश १ बाट तीन, प्रदेश २ बाट दुई, बागमतीबाट दुई, गण्डकीबाट तीन, लुम्बिनीबाट तीन, कर्णालीबाट तीन र सुदूरपश्चिमबाट तीन जना निर्वाचित हुनेछन्। कुल १९ सिटका हुने निर्वाचनमा एमालेले सबै सिटमा उम्मेदवारी दर्ता गराएको छ भने सत्तारुढ गठबन्धनले १९ सिटमा साझा उम्मेदवार उठाएका छन्।
गठबन्धनबाट कांग्रेसले ६ सिट तथा माओवादी र एकीकृत समाजवादीले ५/५ सिट पाएका छन्। जसपाको भागमा २ तथा राजमोको भागमा एक सिट गरी गठबन्धनले तालमेल गरेका छन्।
त्यसैगरी, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले १ र नेपाल मजदूर किसान पार्टीले दुई सिटमा उम्मेदवार उठाएको छ ।