काठमाडौ
कोभिड १९ अर्थात कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारले उच्च सर्तकता सहित तयारी तीव्र पारेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा सरकारले कोरोनाको सम्भावित जोखिमबाट बच्न विभिन्न तयारी थालेको हो।
नेपालपनि कोरोना भाइरसको उच्च जोखिममा रहेको भन्दै विश्व स्वास्थ्य संगठनले चेतावनी दिइसकेको छ। कारोना भाइरसका कारण सरकारले भ्रमण वर्षको क्रममा विदेशमा हुने प्रवद्र्धनात्मक कार्यक्रमहरु स्थगित गर्ने घोषणा गरीसकेको छ।
साथै ठूला सभा, सम्मेलन र भोजभतेर नगर्न सबैसँग आह्वान गरेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको जोखिम बढेको भन्दै धेरै मानिस भेला हुने कार्यक्रम नगर्न अनुरोध गर्नुभएको हो।
सरकारले कोरोना संक्रमित देशबाट आउने विमान र यात्रुलाई रोक्ने तयारी पनि गरेको छ। चीन, जापान, दक्षिण कोरिया, हङकङ, इरानबाट आउने यात्रुहरुलाई रोक्ने सरकारको तयारी छ। संक्रमणको जोखिमलाई ध्यानमा राख्दै आइतबारदेखि त्रिभुवन विमानस्थल भएर आवतजावत गर्ने सबैको स्वास्थ्य जाँच सुरु गरिएको छ।
विदेशबाट आउने पर्यटक, नेपाली तथा तेस्रो देश जाने ट्रान्जिटका यात्रु सबैले स्वास्थ्य जाँच गर्नुपर्ने व्यवस्था गरिएको हो। सरकारले कोरोना सङ्क्रमणको रोक्न सातै प्रदेशमा आवश्यक सामग्रीसहित प्रदेश सरकारसँग समन्वय गरी त्यहाँ रहेका नाकाहरुमा आवश्यक निगरानीको व्यवस्था मिलाउन स्वास्थ्य टोली परिचालन गरेको छ।
काठमाण्डौ उपत्यकाका सबै अस्पतालसँग विभिन्न चरणमा पूर्व तयारीका लागि बैठक तथा छलफल गरिएको स्वास्थ्यमन्त्री ढकालले बताउनुभयो।
यसैबिच सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमण र जोखिम देखिएका ५ मुलुकको सीधा र ट्रान्जिट फ्लाइटका उडान रोक्न हिजो अन्तरिम आदेश दिएको छ। सर्वोच्चले चीन, जापान, दक्षिण कोरिया, बहराइन र इरानबाट हुने उडान रोक्न आदेश दिएको हो।