काठमाडौं । कारागार भित्रैबाट सेटिङ मिलाएर ठूलो परिणाममा लागुऔषधको कारोबार भएको पाइएको छ। प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले ७ हजार एम्पुल लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको हो।
उनीहरुको साथबाट प्रहरीले २ हजार ३ सय १६ एम्पुल डाइजेपाम, २ हजार ३ सय ५० एम्पुल फेनारगन, २ हजार ३ सय ३४ एम्पुल नुर्फिन बरामद गरेको ब्युरोका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए। उक्त लागुऔषध कारोबारका मुख्य अभियुक्त हाल रौतहट कारागारमा कैद भुक्तान गरिरहेका भारतीय नागरिक गुड्डु गुप्ता भएको प्रहरीको दाबी छ। उनले यसअघि सिन्धुली कारागारमा हुँदा कारागारकै कार्यालय सहयोगी र टेलिफोन नाइके सन्तोष स्याङतानलाई समेत प्रयोग गरेर लागुऔषध कारोबारको सेटिङ मिलाउने गरेको खुलेको छ।
हाल गुप्ता र स्याङ्तानलाई रौतहट कारागारमा सरुवा गरिएको छ। गुप्ताले लागुऔषधको कारोबार गर्ने व्यक्तिलाई मासिक १५ हजार दिने र काठमाडौंमा डेराको समेत व्यवस्था गरिदिएर खटाएको पाइएको छ। संग्राम मुक्तान, पञ्च स्याङतान, सुरज सिंह ठकुरी र अन्य दुई किशोरलाई मासिक तलव दिएर खटाएको पाइएको छ। उनीहरुले गुड्डुले भनेअनुसारका व्यक्तिलाई लागुऔषध बिक्री गर्ने गरेको खुलेको छ। जेलभित्रैबाट गुड्डुले लागुऔषध पठाउने व्यक्तिको पनि जानकारी दिने र ठाउँ तोकेर लिन पठाउने गरेको प्रहरीले जानकारी दिएको छ। उनीहरुले सिन्धुली कारागारकी सहयोगी रीता सारु मगरको नाममा रकम पठाउने गरेको पाइएको छ। रीताले त्यसरी आएको रकम गुप्तालाई दिन्थिन्। गुड्डु २०६८ सालमा लागुऔषध खैरो हेरोइन ७०० ग्रामसहित पक्राउ परेका थिए।
काठमाडौं जिल्ला अदालतले २०६९ कात्तिक २१ गते १८ वर्ष कैदको फैसला गरेको थियो। उनी यसअघि सिन्धुली कारागारमा र हाल रौतहट कारागारमा कैद भुक्तान गरिरहेका छन्। सन्तोष पनि २०७६ सालमा ५५ केजी गाँजासहित सिन्धुलीमा पक्राउ परेका थिए। उनीविरुद्ध ५ वर्ष कैदको फैसला जिल्ला अदालत सिन्धुलीले गरेको छ। उनी पनि यसअघि सिन्धुली र हाल रौतहट कारागारमै छन् । यस्तै प्रहरीले भक्तपुरबाट चार जनालाई पक्राउ गरेको छ। दिव्यश्वरी खेल मैदानबाट भक्तपुरका ३३ वर्षीय कृष्णराम धुकुछु, ३३ वर्षीय बिष्णु कुमार देउला र रामेछाप सुनपाती ४ घर भइ भक्तपुर बस्ने २६ वर्षीय भुषण लामा पक्राउ परेका छन्।
उनीहरुलाई धादिङ गजुरी गाउँपालिका ६ की ५० वर्षीया नानी मैया लामा मिजारले लागु औषध उपलब्ध गराउने र उनलाई सप्तरीकी रम्बादेवी दासले उपलब्ध गराउने गरेको खुलेको छ। यस्तै कारोबारमा संलग्न सप्तरीका पप्पु यादव र मोहमद रफिक रैन रदिनलाई पनि ब्युरोले पक्राउ गरेको छ। नानीमैया, रम्बादेवी यसअघि पनि लागुऔषध मुद्दामा कैद भुक्तान गरेर छुटेका व्यक्ति हुन्। विष्णु कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद भुक्तान गरेका र कृष्णराम वैवाहिक करणी मुद्दामा १८ महिना कैद भुक्तान गरेर छुटेको एसपी श्रेष्ठले बताए। यस्तै सिन्धुपाल्चोक सुनकोठीका अनुज थापा मगर, संखुवासभाको मकालुका नविन गुरुङ र मोरङका मन्दिप लिम्बुलाई पनि प्रहरीले लागु औषध कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ गरेको छ।