काठमाडौं । कांग्रेस नेता शेखर कोइरालाले आफूनिकट नेताहरूको छुट्टै भेला बोलाएका छन् । महाधिवेशनपछि पार्टीभित्रको शक्ति संघर्षमा नयाँ ध्रुवीकरण भएको अवस्थामा सभापतिका प्रत्यासी कोइरालाले आफूनिकट नेताहरूसँग महाधिवेशन र त्यसपछिको राजनीतिका विषयमा छलफल गर्न भेला राखेका हुन् ।
त्यसैको तयारीका सन्दर्भमा कोइरालाले मंगलबार शीर्ष नेताहरूसँग छलफल गरेका छन् । ‘हाम्रो समूहको भेला बुधबार दिउँसोका लागि तय भएको हो, आज त्यसको तयारीका सन्दर्भमा नेताहरू बसेर छलफल गर्नुभएको छ,’ कोइरालानिकट एक नेताले भने, ‘बैठकको सन्दर्भ पार्टीको महाधिवेशनको समीक्षा मात्रै हो ।’ कोइरालाले मंगलबार उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, उपसभापतिका उम्मेदवार चन्द्र भण्डारी, महामन्त्रीका उम्मेदवार मिनेन्द्र रिजाल, नेताहरू अर्जुननरसिंह केसी र बलबहादुर केसीलगायत सँग रणनीतिक छलफल गरेका छन् ।
बुधबार कोइराला समूहबाट निर्वाचित सबै पदाधिकारी, पदाधिकारीका उम्मेदवार, केन्द्रीय सदस्यहरू र केन्द्रीय सदस्यका उम्मेदवारहरू सहितको बैठक राखिएको ती नेताको भनाइ छ । महाधिवेशनपछि सभापति शेरबहादुर देउवाले दुई बैठक गरेका छन् भने प्रदेश मन्त्रिपरिषद् विस्तार, राष्ट्रिय सभा सदस्य निर्वाचनमा टिकट वितरण र १३ जना केन्द्रीय सदस्य मनोनीत गरेका छन् । यसअघि महाधिवेशन सकिएलगत्तै कोइरालाले आफूले गुटबन्दी नगर्ने र भागबन्डा नमाग्ने घोषणा गरेका थिए । तर, पार्टीभित्र मर्यादाक्रम निर्धारण, प्रदेशको मन्त्रिपरिषद् विस्तार र राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार चयनका क्रममा सभापति देउवाले नै गुटबन्दीको गन्ध दिएको भन्दै सभापतिले निष्पक्ष भएर काम गर्न नसकेको अवस्थामा आफू चुप लागेर नबस्ने बताउँदै आएका छन् ।
सोमबारको केन्द्रीय समिति बैठकले सौहार्दपूर्ण वातावरणमै राष्ट्रिय सभा सदस्यको निर्वाचनका उम्मेदवारको चयन गरेको थियो । केन्द्रीय सदस्य मनोनयनमा भने देउवाले महाधिवेशनमा आफूलाई सहयोग गर्ने नेताहरूलाई मात्रै केन्द्रीय सदस्य मनोनयन गरेका छन् । विधानले सभापतिले समावेशी सिद्धान्त र एक तिहाई महिला सहभागितालाई सुनिश्चित गर्दै ३३ जना केन्द्रीय सदस्य मनोनीतको व्यवस्था छ । त्यस आधारमा देउवाले अब २० जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउँछन् ।