काठमाडौं । क्रिकेट खेलाडी र नेपाल क्रिकेट संघ (क्यान) को विवाद मिलेसँगै फेब्रुअरीमा ओमानमा हुने ट्वान्टी–२० विश्वकप छनोट खेलका लागि मंगलबारबाट सबै खेलाडी बन्द प्रशिक्षणमा उपस्थित भएका छन् ।
क्यानले सार्वजनिक गरेको ३० खेलाडी मध्ये यसअघि कारबाहीमा परेका ४ खेलाडीसहित सबै जसो खेलाडी मंगलबार अभ्यासका क्रममा मैदानमा देखिएका हुन् । मंगलबारको प्रशिक्षणमा नेपाली राष्ट्रिय टीमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लसहित अन्य खेलाडीले हभागिता जनाए। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा २८ खेलाडीसँगै अभ्यास गरिरहेका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले सबै विवाद बिर्सिएर अब विश्वकप छनोटमा ध्यान केन्द्रीत गर्ने बताए। वर्गीकरणको विषयपछि सतहमा देखिएको खेलाडी र क्यानबीचको समस्या समाधान भएको उनले बताए।
अभ्यासका क्रममा रहेका मल्लले सञ्चारकर्मीहरुसँगको कुराकानीमा आफू सधैंभरि कप्तान बन्नका लागि नआएको प्रतिक्रिया दिए। 'कप्तानीबाट हटाउँदा दु:ख लाग्यो। यत्रो वर्ष क्रिकेटलाई दिएँ विनाकारण यो मुद्दालाई लिएर कप्तानबाट हटाइयो, त्यतिबेला चाहिँ केही गाह्रो भयो। म सधैँ कप्तान हुन आएको हैन। म पहिला नि खेलेको थिएँ, अहिले पनि खेल्छु। म मेरो लागि, देश र परिवारको लागि खेल्छु, त्यो नै लक्ष्य हो' उनले भने। बोर्ड र खेलाडीसँग पहिले नै यसरी छलफल भएको भए यो विवाद नआउने भन्दै मल्लले विनाजानकारी कप्तानबाट हटाउँदा दुःख लागे पनि सधैं कप्तान बन्नुपर्छ भन्ने अडानमा नरहेको बताए।
उनले आत्मसम्मानका हिसाबले अलि अप्ठेरो महसुस भएको भन्दै देश, आफ्नो र परिवारका लागि खेल्ने बताए। मल्लले क्यानसँग खेलाडीहरूको प्रोत्साहन भत्ता बढाउने र चार जना खेलाडीलाई गरिएको कारबाही फिर्ताको विषयमा पनि सहमति भएको बताए। उनले इगो राखेर बस्न नहुने भन्दै विगत बिर्सिएर अघि बढ्ने अवस्थामा पुगेको बताए। अब विश्वकप छनोट नजिकिंदै गएकोले छनोट खेलमा केन्द्रित हुने उनले बताए।
सेन्ट्रल कन्ट्रयाक्टमा वर्गीकरणको विषयमा सञ्चारमाध्यममा बोलेका कारण चार खेलाडी ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई क्यानले कारबाही गरेको थियो। क्यानले मल्ल र ऐरीको कप्तान र उपकप्तान पदबाट हटाउँदै युवा लेग स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तानको जिम्मेवारी दिएको थियो। तर, क्यान र खेलाडीहरुबीच सहमति भएसँगै कारबाही फिर्ता भएको छ।