काठमाडौं । २० वर्षयताको अवधिमा नेपालमा हात्तीको आक्रमणबाट २ सय ७४ जनाको ज्यान गएको छ । मानव हात्ती सहअस्तित्वसम्बन्धी गरिएको एक अध्ययनले हात्तीबाट ज्यान गएकाको तथ्याङ्क सार्वजनिक गरेको हो ।
सहायक संरक्षण अधिकृत अशोककुमार रामले चार वर्ष छ महिनामा हात्तीका विषयमा गरिएको अध्ययनको प्रतिवेदन हिजो सार्वजनिक गरेका हुन् । उनले हात्तीको आक्रमणबाट सबैभन्दा बढी झापामा ४१ जनाको ज्यान गएको जानकारी दिए । दोस्रो बर्दियामा ४०, तेस्रो चितवनमा २६ र चौथो सप्तरीमा २३ जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका छन् ।
उनका अनुसार पर्सामा २१, बारामा २०, सिरहामा १६, उदयपुरमा १६, सुनसरीमा १५ जनाको ज्यान गएको छ । सिन्धुलीमा नौ, धनुषामा नौ, मोरङमा आठ, रौतहटमा सात, सर्लाहीमा पाँच, कञ्चनपुरमा पाँच, मकवानपुरमा पाँच, इलाममा चार, बाँकेमा दुई, महोत्तरीमा एक र नवलपरासीमा एक जनाको ज्यान गएको छ ।
यसै अवधिमा १३८ जना घाइते भएका, सम्पत्ति नष्ट तीन हजार ७५५ को र बालीनाली छ हजार ६०६ जनाको नष्ट भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । सबैभन्दा बढी जनधनको क्षति झापा, बर्दिया र चितवनमा भएको छ । जङ्गली हात्तीको आक्रमणमा बढी सङ्ख्यामा २५ देखि ६५ वर्ष उमेर समूहका व्यक्ति पर्ने गरेको तथ्याङ्कमा देखाइएको छ ।
हात्तीको आक्रमणमा पर्नेमा यस उमेर समूहका ७५ प्रतिशत रहेका छन् । वन क्षेत्रबाट ५०० मिटर वरिपरि बढी सङ्ख्यामा जोखिम रहेको उनले बताए । वन क्षेत्रको ५०० मिटरको क्षेत्रफलमा २० वर्षमा हात्तीको आक्रमणबाट १८३ जनाको ज्यान गएको छ । यसै अवधिमा त्यही दूरीभित्र ९३ जना घाइते भएका छन् ।