काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले राष्ट्रियसभा सदस्यका लागि सिटको भागबण्डा टुंग्याएको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले माघ १२ गते हुनलागेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिटको बाँडफाँड गरेको हो।
गठबन्धनको बैठकले यसअघि राष्ट्रियसभामा प्रतिनिधित्व गरेका सिटलाई यथावत राख्दै एमालेका तर्फबाट रिक्त हुनलागेको ८ सिटमा भागबण्डा गरेको हो। आगामी फागुन २० गते एमालेका ८, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का ४-४ र कांग्रेसका ३ राष्ट्रियसभा सदस्यहरूको कार्यकाल सकिँदैछ।
राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले यसअघिका सिटलाई जस्ताको त्यस्तै राखेर कार्यकाल सकिन लागेको एमालेका ८ सिटका लागि गठबन्धनमा बाँडफाँड गरिएको बताइन्।
‘पहिले जितेको स्थानमा सम्बन्धित पार्टीलाई यथावत राखेर बाँकी रहेका आठ सिटका लागि बाँडफाँड भएको छ,’ पौडेलले भनिन्,‘८ सिटमध्ये कांग्रेसलाई ३, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चालाई १-१ र जसपालाई २ सिट दिने सहमति भएको छ।’
गठबन्धनले गरेको सहमतिअनुसार १९ सिटमध्ये कांग्रेसले ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले ५-५, जसपाले २ र राष्ट्रिय जनमोर्चाले १ सिट पाउने भएको छ।
कुन प्रदेशमा को?
गठबन्धनको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि प्रदेशगत हिसाबले सिटको बाँडफाँड गरेको छ। कुन प्रदेशमा कुन दलले उम्मेवार दिनेबारे बैठकमा दलहरूबीच सहमति भएको उपाध्यक्ष पौडेलले जानकारी दिइन्।
उनले प्रदेश १ मा एकीकृत समाजवादी र जसपा, प्रदेश २ मा माओवादी केन्द्र र जसपा तथा बागमती प्रदेशमा नेपाली कांग्रेस र एकीकृत समाजवादीले उम्मेदवारी दिने सहमति भएको बताइन्।
यसैगरी गण्डकीमा नेपाली कांग्रेस र माओवादी केन्द्र, लुम्बिनीमा कांग्रेस, समाजवादी र राष्ट्रिय जनमोर्चा, कर्णालीमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी तथा सुदूरपश्चिममा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार दिने सहमति गठबन्धनमा जुटेको छ।
माघ १२ गते १९ सिटका लागि हुनलागेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मंगलबार मनोनयन दर्ताको कार्यतालिका तोकेको छ।