काठमाडौं । मेडिकल कलेजले अतिरिक्त शुल्क माग गरेपछि विद्यार्थीहरू आन्दोलित बनेका छन् । चिकित्सा शिक्षा विधाअन्तर्गत, बीडीएस, बीएनएस र एमबीबीएस अध्ययनरत मेडिकल कलेजका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन् ।
अतिरिक्त शुल्क मागेको भन्दै सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी), मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेज र पोखरास्थित मणिपाल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरूले शुल्क कम गर्नुपर्ने माग गर्दै आन्दोलन थालेका हुन् ।
आन्दोलनमा उत्रिएका विद्यार्थीहरूले केएमसीले विभिन्न शीर्षकमा विद्यार्थीहरूबाट करीब २० लाख रुपैयाँ अतिरिक्त शुल्क माग गरेको बताएका छन् ।
चिकित्सा शिक्षा आयोगले काठमाडौँ उपत्यकाभित्र एमबीबीएस अध्ययनरत विद्यार्थीहरूका लागि ४० लाख २३ हजार २५० रुपैयाँ अध्ययन शुल्क निर्धारण गरे पनि केएमसीले अध्ययन अवधिभर करीब ६० लाख रुपैयाँ तिर्ने सम्झौता पत्रमा हस्ताक्षर गर्न दबाव दिएको विद्यार्थीहरूको गुनासो छ ।
त्यस्तै उपत्यका बाहिर एमबीबीएस अध्ययन गर्ने विद्यार्थीका लागि आयोगले ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क निर्धारण गरे पनि नोबेल मेडिकल कलेजले विद्यार्थीहरूबाट थप १५ लाख अतिरिक्त शुल्क माग गरेको उनीहरूको गुनासो छ ।
नोबेल कलेजमा अतिरिक्त शुल्क नदिने विद्यार्थीहरूलाई कलेजले अध्ययन गर्न समेत नदिएको उनीहरूले बताएका छन् । विद्यार्थीहरूबाट १० लाखदेखि १५ लाख रुपैयाँसम्म अतिरिक्त शुल्क माग गरेको नोबेलमा एमबीबीएस अध्ययरत एक विद्यार्थीले दाबी गरे ।
केएमसीमा तालाबन्दी
बिद्यार्थीसँग अतिरिक्त शुल्क माग गरेपछि केएमसीमा बीडीएस, बीएनएस र एमबीबीएस अध्ययनरत विद्यार्थीले केएमसीको भक्तपुरको दुवाकोटमा रहेको कलेजको भवनमा आइतबार तालाबन्दी गरेका छन् ।
कलेजलाई बारम्बार चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क लिएर अध्यापनलाई अघि बढाउन आग्रह गर्दा पनि नमानेपछि विरोध स्वरुप कलेज भवनमा तालाबन्दी गर्न बाध्य भएको एक विद्यार्थीले बताए ।
अहिले केएमसीमा अध्ययनरत करीब १ सय ५० जना विद्यार्थीले अतिरिक्त शुल्क घटाउन माग गर्दै आन्दोलन थालेका छन् । त्यस्तै नोबेल मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत विद्यार्थीहरूले पनि आइतबार आन्दोलन गरेका छन् ।
कलेजले विद्यार्थीबाट अतिरिक्त शुल्क माग गरेको भन्दै उनीहरूले आइतबार कलेज र वडा कार्यालयअगाडि नाराबाजीसमेत गरेका थिए । नोबेलमा एमबीबीएस अध्ययनरत विद्यार्थीहरूका अनुसार अहिले कलेजले अतिरिक्त शुल्क तिरेका र छात्रवृत्तिमा नाम निकालेका विद्यार्थीहरूलाई मात्र अध्यापन गराइरहेको छ ।
अहिले नोबेल कलेजमा एमबीबीएस अध्ययनरत करीब ७० जना विद्यार्थीहरू आन्दोलनमा उत्रेका छन् । नोबेल कलेजका प्रिन्सिपल डा. रामहरी घिमिरेले अतिरिक्त शुल्क नतिरे कक्षा कोठामा बस्न नदिने धम्की समेत दिने गरेको उनीहरूको गुनासो छ ।
त्यस्तै पोखरास्थित मणिपाल मेडिकल कलेजले पनि विद्यार्थीहरूबाट अतिरिक्त शुल्क उठाउन खोजेको गुनासो विद्यार्थीहरूले गरिरहेका छन् । एमबीबीएसमा अध्ययनरत विद्यार्थीसँग कलेजले करीब ६ लाख रुपैयाँ बढी माग गरेको त्यहाँ अध्ययनरत विद्यार्थीहरूको गुनासो छ ।
मेडिकल कलेज सञ्चालकहरूले यसरी खुलेआम रुपमा अतिरिक्त शुल्क माग गर्दा पनि कारवाहीको अधिकार पाएको चिकित्सा शिक्षा आयोगले भने ठोस कदम लिन सकेको छैन ।
केएमसीका विद्यार्थीहरूले कलेजले अतिरिक्त शुल्क माग गरेको भन्दै केही दिनअघि काठमाडौँ जिल्ला प्रशासन कार्यालयलमा उजुरी दर्ता गराएका थिए ।