काठमाडौं । चालू आर्थिक वर्ष २०७८/०७९ मा धान उत्पादनमा गिरावट आएको छ । यस वर्ष ५१ लाख ३० हजार मेट्रिकटन धान उत्पादन हुने अनुमान कृषि तथा पशुपन्छी विकास मन्त्रालयको थियो ।
यो कात्तिकमा आएको बेमौसमी वर्षाका कारण पाँच वर्षयता धान उत्पादनको अंकसँग तुलना गर्दा हालसम्मकै न्यून उत्पादन रहेको कृषि मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । पाँच वर्षअघि आव २०७४/०७५ मा ५१ लाख ५० हजार ९२५ मेट्रिकटन धान उत्पादन भएको थियो । जुन, सो अवधिको तुलनामा चालू आवमा धान उत्पादनमा कमी आएको छ ।
गत आर्थिक वर्ष २०७७/०७८ को तुलनामा चालू आवमा धान उत्पादन ८.७४ प्रतिशतले घटेको कृषि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, गत आवको तुलनामा धान बाली लगाइएको क्षेत्रफल करिब ४ हजार हेक्टरले वृद्धि भए पनि उत्पादकत्वमा ९.०९ प्रतिशतले हस आई उत्पादकत्व ३.४७ मेट्रिकटन प्रतिहेक्टरमा सीमित हुन पुगेको छ । यस वर्षको उत्पादकत्व पनि विगत पाँच वर्षकै न्यून रहेको मन्त्रालयले जानकारी गरायो । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका कैलाली, कन्चनपुर, बर्दिया, बाँके, कपिलवस्तुलगायत विभिन्न जिल्लामा बैमोसमी वर्षाले किसानको धानमा क्षति पुर्याउँदा समग्र राष्ट्रिय धान उत्पादनमा कमी आएको मन्त्रालयको अनुमान छ ।
गत आवमा ५६ लाख २१ हजार मेट्रिकटन धान उत्पादन भएको थियो । मन्त्रालयका अनुसार, धान थन्क्याउने समयमा गत ३१ असोजदेखि २०७८ देखि ३ कात्तिकसम्म भएको हावाहुरीसहितको अप्रत्याशित वर्षाले किसानको धानमा क्षति पुग्यो । प्रदेशगत रूपमा धान उत्पादनको अवस्था हेर्दा गत आवको तुलनामा यस वर्ष गण्डकी प्रदेशमा बाहेक अन्य प्रदेशमा धान उत्पादन घटेको छ ।
गत आवको तुलनामा सुदूरपश्चिम प्रदेशमा ३१.४९ र लुम्बिनी प्रदेशमा १८.३८ प्रतिशतको उच्च गिरावट रहन गएको मन्त्रालयले जनाएको छ । यता, चैते धानको उत्पादकत्वमा गत आवको तुलनामा ०.३२ प्रतिशतले वृद्धि हुन गई ४.६८ मेट्रिकटन प्रतिहेक्टर कायम हुन आएको जनाइएको छ । हाल अनुदानको मल आयात गर्ने कम्पनी कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको गोदाममा १२ हजार २०० मेट्रिकटन मल मात्र मौज्दात रहेको कृषि मन्त्रालयले जनाएको छ ।
कृषि मन्त्रालयले पत्रकार सम्मेलन गर्दै दुवै कम्पनीका गोदाममा गरी हाल १० हजार ५०० मेट्रिकटन युरिया, १२ सय मेट्रिकटन डीएपी र करिब ५०० मेट्रिकटन पोटास गरी १२ हजार २०० मेट्रिकटन मल मौज्दात रहेको जानकारी दिइएको छ । उक्त परिमाणको मौजादत मलले आगामी दिनमा किसानको मागको चाप धान्न नसक्नेसमेत मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयको आकलनअनुसार आगामी तीन महिनाका लागि मात्र कम्तीमा ७५ हजार मेट्रिकटन मल आवश्यक पर्ने देखिन्छ ।
सरकारले मल अभाव टार्ने सक्दो प्रयास गरिरहेको कृषिमन्त्री महेन्द्र राय यादवले पत्रकार सम्मेलनमा जानकारी गराए । मन्त्री यादवले धान उत्पादनमा वर्षात्का कारण गिरावट आएको बताउँदै सरकारले चामलको संकट आउन नदिने बताए । उनले कृषि मन्त्रालय उखुको आवश्यक न्यूनतम मूल्य तोकेर तयारी अवस्थामा बसे पनि केही समस्याका कारण उक्त तोकिएको मूल्य सार्वजनिक गर्न नसकेको जानकारी गराए ।