काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालकसहित १२ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। आइतबार विशेष अदालत काठमाडौंमा अख्तियारले प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीसहित १२ जना कर्मचारीलाई विपक्षी बनाउँदै मुद्दा दायर गरेको हो।
कृषि सामग्री कम्पनी लिमिटेडले कन्ट्रयाक्ट नम्बर ८९/०७७/०७८ बाट खरिद गरेको डीएपी मल नेपाल सरकारले तोकेको गुणस्तरमा नरहेको, कम गुणस्तरको मल खरिद गरी आर्थिक अनियमितता गरेको पाइएपछि उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो। कृषि सामग्री कम्पनी लिमिटेडका कर्मचारीहरु र आपूर्तिकर्तासमेतको मिलेमतोमा कम गुणस्तरको मललाई गुणस्तरयुक्त भनी रासायनिक मल (नियन्त्रण) आदेश, २०५५ एवं सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ विपरीत विना प्रतिस्पर्धा मल खरिद गरेको पाइएको अख्तियारले जनाएको छ। अद्यावधिक नगरेको संस्था नेपाल इन्भाइरोमेन्टल एण्ड साइन्टिफिक सर्भिस प्रालिलाई मलको गुणस्तर परीक्षण प्रतिवेदन दिन लगाएको अख्तियारले जनाएको छ।
यसरी उनीहरुले १ अर्ब ५ करोड २२ लाख ४०६ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियारले सो बराबरको बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो। उक्त ठेक्काबाट मलको नमूना परीक्षण गराउँदा तोकिए अनुसारको मापदण्ड पूरा गरेको गुणस्तरीय मल खरिद नभएको अख्तियारको छानबिनमा खुलेको थियो। नेपाल गुणस्तर तथा नापतौल विभागमा जाँच हुँदा कम गुणस्तरको देखिँदा समेत तोकिए बमोजिम गुणस्तर भएको भनी गलत परीक्षण प्रतिवेदन बनाइ भन्सार नाका तथा कृषि सामग्री कम्पनी लिमिटेड प्रधान कार्यालयमा पेश गरेको खुलेको अख्तियारले जनाएको छ। भण्डारीसँगै प्रबन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे, उप–प्रबन्धक पुष्करदीप बुढासमेतले कृषि सामग्री कम्पनी लिमिटेडलाई हानिनोक्सानी पुर्याएको अख्तियारले जनाएको छ।
प्रबन्ध सञ्चालक नेत्र बहादुर भण्डारी, विष्णुप्रसाद पोखरेल, दुर्गाप्रसाद पाण्डे र पुष्करदीप बुढाउपर एक अर्ब त्रिपन्न लाख २२ हजार चार सय ६ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर भएको छ। उनीहरुसँगै गलत प्रतिवेदन तयार गर्ने/गराउने कार्यमा संलग्न नेपाल इन्भाइरोमेन्टल एण्ड साइन्टिफिक सर्भिस प्रालिका प्रबन्ध निर्देशक सलिल देवकोट, कार्यकारी निर्देशक विनित जोशी, सुनिलबाबु खत्री, सिनियर सर्भेयर महेन्द्र कुमार डागा र प्रयोगशाला तथा परामर्शदाता भोलानाथ चौधरी, मनोज आचार्यलाई पनि विपक्षी बनाउँदै मुद्दा दायर गरिएको छ।