काठमाडौं । राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहित राजतन्त्रवादी दलहरुले संसदीय व्यवस्था फाल्न लागिपरेको बताएका छन् ।
क्यापिटल एफएमको दैनिक कार्यक्रम सिधा कुरामा बोल्दै केसीले उक्त कुरा बताएका हुन् ।
नेपाली जनतामा आफैमा स्वयम् देशमा परिवर्तन हुनु पर्छ, के सत्य हो के असत्य हो ? कसलाई समर्थन गर्ने कसलाई नगर्ने भन्ने कुराको समेत हेक्का नभएको उनले बताएका छन् । ‘नेपाली जनतामा स्वयम् आफैमा परिवर्तन हुनुपर्छ र के सत्य हो के असत्य हो, नीति सिद्धान्त हेरेर मात्रै सिफारिस गर्ने, सहयोग गर्ने, समर्थन गर्ने हुनु पर्छ नि ? राजनीति गर्ने नेताहरुलाई मात्रै सरापेर र उनीहरुको विरोध गरेर मात्रै केही हुँदैन,’ उनले भने, ‘स्वयम् तिनलाई लाइसेन्स दिने र बारम्बार नयाँ बानेश्वर, सिंहदरबार पठाउने बेलामा जनताले पनि विचार गर्नु पर्छ । मतदातामा परिवर्तन, मतदाताको दृष्टिकोणमा, विचारमा, क्षमतामा परिवर्तन नआएर अगुवाहरु डराउने कुरा हुँदैन् । र अगुवाहरु फेरिँदैनन् आफ्नो किसिमले । उनीहरुका बानी बिग्रीसकेको छ ।
अध्यक्ष केसीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवाद यात्राको नाममा झुठको खेती गरेको आरोप लगाएका छन् ।
अहिलेको संसदलाई चल्न नदिने र यसलाई पनि सिध्याउने चलखेल भइरहेको बताउँदै उनले यसले संसद मात्रै नभएर बहुदलिय व्यवस्थालाई पनि सिध्याउने हेतुले विभिन्न नामबाट चलखेल भइरहेको उनले बताएका छन् । नेपाली जनताले यही सीमित बहुदलीय व्यवस्थालाई पनि जोगाउन सकेनन् भने मुलुक झन् अँध्यारो सुरुङतर्फ जाने उनले बताएका छन् ।