काठमाडौं । नेपाल धितोपत्र बोर्ड नेतृत्वविहीन हुँदा बोर्डमा आवेदन दिएर बसेका २८ कम्पनीको साधारण सेयर (आईपीओ) निष्कासन रोकिएको छ । अध्यक्ष नहुँदा बोर्डले आईपीओ निष्कासन गर्न तयारी पूरा गरिसकेका कम्पनीलाई समेत स्वीकृति दिन सकेको छैन ।
आवेदन दिएका कम्पनीको आईपीओ निष्काशन प्रक्रिया अलमलमा परेसँगै नयाँ आवेदन दिन आउने कम्पनीको संख्या पनि न्यून छ । सार्वजनिक कम्पनीले सर्वसाधारणबाट पुँजी संकलनका लागि आईपीओ निष्कासन गर्दछ।
यस्तो सेयरको मूल्य साधारणतया १०० रूपैयाँ प्रतिकित्ता तय गरिएको हुन्छ । आईपीओ खुलेका समय सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्छन् ।
यद्यपि, कुनै कम्पनीले प्रिमियम मूल्यमा सेयर निष्कासन गर्दा अंकित मूल्य १०० रूपैयाँभन्दा धेरै पनि तोक्न पाउँछ । यसकारण कतिपय कम्पनीको मूल्य भने १०० रूपैयाँभन्दा बढी तय गरिएको हुन्छ ।
आईपीओ निष्कासन गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिनुपर्छ । त्यस्ता कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकसमेत तोक्नुपर्ने हुन्छ ।
कम्पनीले निष्कासन गर्न लागेको आईपीओको जोखिम के–कस्तो छ भनेर रेटिङ कम्पनीबाट मूल्यांकन गराएको हुनुपर्छ । नेपालमा केयर रेटिङ नेपाल र इक्रा नेपालले रेटिङको काम गर्दै आएका छन् ।
यी दुई कम्पनीले आईपीओमा लगानी गर्दा रहने जोखिमका आधारमा रेटिङ प्रदान गर्दछ । यसरी प्रक्रियामा गएका कम्पनीले धितोपत्र बोर्डबाट आईपीओ निष्कासनका लागि अनुमति पाउँछन् ।
यो सम्पूर्ण प्रक्रिया पूरा गरेर आईपीओ निष्कासनका लागि अन्तिम स्वीकृतिको लागि धितोपत्र बोर्डमा आवेदन दिएका कम्पनी पौष १६ गतेसम्म २८ वटा रहेका छन् । यी कम्पनीलाई नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासनका लागि योग्य छ छैन, अनुसन्धान गरेर आईपीओ निष्कासनका लागि अनुमति दिनुपर्ने हुन्छ ।
अहिले धितोपत्र बोर्ड नै नेतृत्वविहीन बनेर बसेको छ । यसकारण बोर्डमा आवेदन दिएका कम्पनीलाई अध्ययन गरी आईपीओ निष्कासनका लागि स्वीकृति दिने प्रक्रिया अलमलमा परेको हो ।
रोकिएको आईपीओ
धितोपत्र बोर्डमा २८ वटा कम्पनीले छ करोड ७२ लाख ४७ हजार चार कित्ता सेयर निष्कासनका लागि आवेदन दिएका छन् । यसरी आवेदन दिनेमा सबैभन्दा धेरै जलविद्युत् कम्पनीरहेका छन् ।
आवेदक २८ मध्ये १७ वटा जलविद्युत् कम्पनी छन् । यस्तै छ वटा लघुवित्त कम्पनी, दुईवटा बिमा कम्पनी तथा तीनवटा अन्य कम्पनी रहेका छन् ।