काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगमी फेब्रुअरी तेस्रो साता ओमानमा हुने आइसिसी टि २० विश्वकप ग्लोबल छनोट ए को लागि नेपालले ३० सदस्य टोलीको घोषणा गरेको छ । मुख्य प्रशिक्षक पुबुदु दसानायिकेले ३० सदस्य टोली घोषणा गरेका हुन् ।
घोषणा टोलीमा भीम सार्की, शरद भेषावकर, प्रदीप ऐरी, सौरभ खनाल, राजेश पुलामी मगर लगायतका खेलाडीले टोलीमा पूनरागमन गरेका छन् । क्यानले पहिलो चरणमा ३० सदस्य टोली बोलाएको हो ।
बन्द प्रशिक्षणमा केहि खेलाडीलाई हटाएर क्यानले प्रधानमन्त्री कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई मौका दिनेछ । क्यानले प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितालाई टि२० शैलीमा आयोजना गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई अनुरोध गरि सकेको छ ।
प्रधानमन्त्री कप पुष २५ देखि माघ ७ सम्म काठमाडौंमा हुनेछ । मुख्य प्रशिक्षक पुबुदु दसानायिकले प्रधानमन्त्री कपबाट नयाँ प्रतिभा हेर्दै टोलीलाई आवश्यक पर्ने खेलाडी लिने बताएका थिए ।
बन्द प्रशिक्षण शनिबारदेखि सुरु हुनेछ । टि२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत समूह ए को खेल सन् २०२२ फेब्रुअरी १५ देखि २५ सम्म ओमानमा आयोजना हुनेछ ।
समूह ए मा नेपालसँगै आयरल्यान्ड, ओमान, युएई, फिलिपिन्स, जमर्नी, क्यानडा र बहराइन छन् । समूहको शीर्ष दुई टोलीले अष्ट्रेलियामा हुने टि२० विश्वकपमा स्थान पक्का गर्नेछन् ।