बैतडी। हिमपातका कारण मंगलबार साँझदेखि अवरुद्ध भएको दशरथचन्द र जयपृथ्वी राजमार्ग सञ्चालनमा आएको छ।
मंगलबार साँझदेखि लगातारको बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध हुँदा यातायात सेवा पूर्णरूपमा ठप्प भएको थियो भने सयौँ यात्रु अलपत्रमा परेका थिए।
नेपाली सेनाले बैतडीस्थित दशरथचन्द राजमार्गमा जमेको हिउँ हटाएको छ। हनुमानध्वज गुल्मका उपसेनानी बालाराम बुढाथोकी नेतृत्वको टोलीले राजमार्गअन्तर्गत देहिमाडौँ, कठपते, सतबाँझलगायतका क्षेत्रको हिउँ हटाएको हो।
मंगलबार साँझदेखि परेको बाक्लो हिमपातले राजमार्ग अवरुद्ध र जनजीवन प्रभावित हुन थालेकाले सडकको हिउँ हटाइएको हनुमानध्वज गुल्मका गुल्मपति, सेनानी खिलबहादुर रानाले जानकारी दिए। यसका साथै कठपतेमा रहेको टेलिकमको टावर आसपास क्षेत्रको हिउँ पनि हटाइएको जनाइएको छ।
आपतविपत्मा नेपाली सेना सधैँ साथमा रहेको सन्देश दिन हामीले पछिल्लो समय सामाजिक कार्य र विपतमा परेकाको उद्धारलगायतका काम गरिरहेका उनको भनाइ छ।
यस्तै भारी हिमपातका कारण अवरुद्ध बनेको दशरथचन्द र जयपृथ्वी राजमार्ग सुचारु भएको छ। खोडपे, अनारखोली, ढोल्यामोडलगायतका क्षेत्रमा जमेको हिउँका कारण बुधबार बिहानैदेखि अवरुद्ध बनेका राजमार्ग दिउँसोपछि सुचारु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले बताए।
यसैबीच वर्षासँगै हिमपात भएपछि किसान खुसी भएका छन्। यो वर्ष समयमै हिउँ परेकाले गहुँलगायतका हिउँदेबाली सप्रिने भन्दै किसान खुसी भएका हुन्।