काठमाडौं । कोरोना विरुद्धको खोपका लागि आवश्यक सिरिञ्ज नहुँदा खोप अभियान प्रभावित भएको छ । गएको १३ गतेदेखि नै १२ देखि १७ वर्षसम्मका बालबालिका र किशोरकिशोरीलाई फाइजर खोप दिने भनिए पनि घोलक र सिरिञ्ज अभाव हुँदा अभियान स्थगित गरिएको छ । यसले गर्दा खोप थुप्रिरहेको छ ।
सिरिञ्ज नहुँदा आएका खोप वितरण हुन सकेको छैन भने सिरिञ्ज अभाव नभएका कतिपय ठाउँमा खोप लगाउन जानेहरुको सङ्ख्या कम छ । यसले खोप भण्डारण र व्यवस्थापनमा चुनौती बढेको छ । सरकारले सबैलाई खोप केन्द्रसम्म पुर्याउनका लागि सहयोग गर्न अनुरोध गरेको छ ।
स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले अहिले सजिलै पाइरहेका बेला खोप लगाएर सुरक्षित हुन आग्रह गरे । खोपले नयाँ ओमिक्रोन भेरियन्टसँग लड्न समेत सहयोग गर्ने भएकाले छुटेकाहरुलाई खोप केन्द्रसम्म पुर्याउन जनप्रतिनिधिसहित सबैलाई उनको अनुरोध पनि छ ।
स्वास्थ्य मन्त्रालयले अबको एक हप्ताभित्र सिरिञ्ज आउने अनुमान गरिएकाले अबको १० दिनभित्र फाइजर खोप दिने तयारी थालेको जनाएको छ । मन्त्रालयका सचिव डा. रोशन पोखरेले १० दिनभित्र काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली, डडेलधुरा र सुर्खेतका १२ देखि १७ वर्ष उमेरका बालबालिका र किशोरकिशोरीलाई फाइजर खोपको अभियान थाल्ने तयारी भएको जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयले खोपको लागि आवश्यक पर्ने घोलक र फाइजर खोपलाई चाहिने सिरिञ्जको अभावले केही दिनको लागि खोप अभियान स्थगित गरेको थियो ।
सचिव पोखरेलले फाइजर खोपको लागि आवश्यक पर्ने घोलक आइसकेको बताए । साथै फाइजर खोपलाई चाहिने सिरिञ्ज आउँदो २० गतेसम्म आइपुग्ने अनुमान रहेको उनले बताए ।