काठमाडौं । नवलपुरको कावासोतीमा बुधबार बिहानदेखि अवरुद्ध राजमार्ग अझै सञ्चालमा आउन सकेको छैन । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) बुधबारदेखि अवरुद्ध राजमार्ग वर्षाका कारण डाइभर्सनमा क्षति पुग्दा अवरुद्ध भएको पूर्वपश्चिम राजमार्ग अझै सञ्चालनमा आउन नसकेको हो ।
नारायणगढ– बुटवल सडक विस्तारका क्रममा कावासोतीको खरकट्टा जङ्गलमा बनाइएको नयाँ डाइभर्सन वर्षाका कारण भत्किएपछि राजमार्ग अवरुद्ध भएको हो । अवरुद्ध भएको राजमार्ग ३० घण्टा बितिसक्दासमेत मर्मत हुन सकेको छैन । हिलोमा सवारी साधन फसेपछि झनै समस्या भएको छ ।
अवरुद्ध सडक खुलाउन डाइभर्सन मर्मतको काम भइरहे पनि वर्षाले माटो भिजेर हिलो हुँदा निकै समस्या भइरहेको जिल्ला प्रहरी नवलपरासीका प्रहरी निरीक्षक सागर पन्तले बताए । नवलपुर क्षेत्रमा आज बिहानदेखि वर्षा रोकिएकाले अब मर्मत गरेर छिट्टै सञ्चालनमा ल्याइने उनको भनाइ छ ।
फेरि वर्षा भएमा सञ्चालनमा आउन अझै समय लाग्ने उनले बताए । पूर्व पश्चिम राजमार्गअन्तर्गत नारायणगढ – बुटवल सडकखण्डमा सडक विस्तारको काम चलिरहेकाले वर्षा हुँदा यहाँ सडक अवरुद्ध हुँदै आएको छ ।
धेरै ठाउँमा डाइभर्सन निर्माण हुँदा वर्षा हुनासाथ डाइभर्सन भत्किने, बिग्रने गर्दा यात्रुले सास्ती भोग्दै आएका छन् । ठूला तथा मालबाहक सवारी साधन सडकमा रोकिएका छन् । राजमार्ग विस्तारका क्रममा बनाइएका डाइभर्सनका कारणले वर्षाको समयमा कयौँ दिनसम्म नवलपुरस्थित पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको थियो ।
विभिन्न स्थानमा बनाइएका डाइभर्सनमा सामान्य पानी पर्ने बित्तिकै क्षति हुने, हिलो हुने र सवारी वारपार हुन नसक्दा मुख्य राजमार्ग नै घण्टौँ अवरुद्ध हुने गरेको छ । कम जनशक्ति परिचालनले कल्भर्ट तथा पुल निर्माण गर्दा निर्माण कार्य लम्बिदै जाने गरेको छ ।
यसले कुनै पनि समय पानी परे राजमार्ग अवरुद्ध हुने गरेको छ । साथै पुल समयमा निर्माण नगर्दा डाइभर्सनका कारण यातायात सञ्चालनमा समेत कठिनाइ हुँदै आएको छ ।