काठमाडौं । नेकपा माओवादी केन्द्रको काठमाडौमा जारी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनमाथि समूहगत टिप्पणी प्रस्तुत भइरहेको छ । आइतबारदेखि जारी आठौं महाधिवेशनमा २५ वटा समूह बनाएर गरिएको छलफलमा ११ वटा समूहले बुधबार आफ्नो निष्कर्ष प्रस्तुत गरेका छन् भने बाँकी समूहले बिहीबार आफ्नो टिप्पणी प्रस्तुत गर्नेछन् ।
सबै समूहको प्रस्तुतिपछि अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यसूची रहेको छ । बन्दसत्रको पहिलो दिन सोमबार पार्टी अध्यक्ष प्रचण्डले २१औं शताब्दीमा समाजवादको नेपाली बाटो शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज, स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए ।
समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्नेमा सल्लाहकार समूहको तर्फबाट रामनारायण बिडारी, प्रदेश २ बाट सत्यनारायण भगत, आयोगको तर्फबाट टंक राई, गण्डकी प्रदेशबाट गायत्री गुरुङ, प्रदेश १ बाट अजम्बर काम्बाङ राई र हर्कबहादुर नेम्वाङ, प्रवास समन्वय समितिबाट मनऋषि धिताल, बागमती प्रदेशबाट सरल सहयात्री, केन्द्रीय विभागबाट गीता पनेरु, सुदूरपश्चिम प्रदेशबाट मिनबहादुर कँवर र कर्णाली प्रदेशबाट विमला केसी रहेका छन् ।
बुधबार दिउँसो सवा १ बजेबाट बन्द सत्रमा समूहगत छलफलको निष्कर्ष प्रस्तुति सुरु भएको थियो । राजनीति दस्तावेज र विधान मस्यौदामाथि छलफल गर्न प्रतिनिधिहरुलाई २५ वटा समूहमा विभाजित गरेर मंगलबार बिहानदेखि बुधबार बिहान १२ सम्मको समय छुट्याइएको थियो ।
बिहीबार बिहान ११ बजेदेखि बन्द सत्र पुनःसञ्चालन हुनेछ । बाँकी रहेका समूहले भोलि बन्द सत्रमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्नेछन् ।
यसअघि बिहीबार सकिने भनिएको महाधिवेशन एक दिन लम्बिने भएको छ । बन्दसत्रमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्न समय लागेकाले महाधिवेशन शुक्रबारमात्र समापन हुने नेता शक्तिबहादुर बस्नेतले बताए ।
बिहीबारै अध्यक्षले जवाफ दिन नभ्याउने भएकाले महाधिवेशनको समय लम्बिने उनले बताए । अध्यक्षको जवाफपछि समुदायगत कलस्टरको प्रतिनिधित्व गर्नेगरी २९९ केन्द्रीय समिति बनाइने नेता बस्नेतले बताए ।
अध्यक्षसहित पदाधिकारी चयन गरेर महाधिवेशन सकिने जनाइएको छ ।