काठमाडौं । प्रदेश २ को नाम र स्थायी राजधानी तोक्न सकस देखिएको छ। सत्तारुढ र विपक्षी दलहरूले फरक प्रस्ताव पेश गरेपछि नाम र राजधानी तोक्न सकस परेको हो।
जनकपुरधामलाई प्रदेशको स्थायी राजधानी तोक्न केहीबाहेक अधिकांश सांसदहरू एकमत रहे पनि नामबारे फरक मत देखिएको छ। प्रदेशको नाम तोक्न दलहरूबीच सहमति जुट्न नसकेपछि विशेष समिति गठन गरिएको छ।
मंगलबार बसेको प्रदेशसभा बैठकमा सभामुख सरोज यादवले प्रदेशको राजधानी र नामकरणसम्बन्धी प्रस्तावमाथि अध्ययन गरी प्रदेशसभामा प्रतिवेदन पेश गर्न विशेष अध्ययन समिति गठन गर्न प्रस्ताव पेश गरेका थिए।
सभामुख यादवको अध्यक्षतामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका सदस्य प्रतिनिधित्व गर्ने गरी विशेष समिति गठन गरिएको हो।
समितिमा उपसभामुख उपमा देव उपाध्यक्ष छिन्। यसैगरी सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट शैलेन्द्र यादव, विदेश्वर यादव र संजय यादव सदस्य छन्। त्यसैगरी कांग्रेसका तर्फबाट उपेन्द्र कुश्वाहा र शिवचन्द्र चौधरी, नेकपा(एकीकृत समाजवादी) बाट शत्रुध्न महतो र सुन्दर विश्वकर्मा तथा माओवादी केन्द्रबाट भरत साह र दिलिप साह समितिमा छन्।
प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी (लोसपा) बाट परमेश्वर साह र सुरिता साह तथा नेकपा एमालेबाट किशोरी साह र शारदा थापा तथा नेपाल संघीय समाजवादीबाट सावित्री साह समितिमा सदस्य छन्।
कुनै पनि प्रस्तावमा दुई तिहाइ बहुमत जुट्न नसकेपछि प्रदेश २ को स्थायी राजधानी र नामको टुंगो लाग्न सकेको थिएन।
काम सुरु गरेको मितिले १५ दिनभित्र कार्यवधि तयार पार्न म्यान्डेट पाएको समितिले कार्यविधि आफैं तयार पार्नेछ।
समितिले राजधानी र नामबारे आएका प्रस्ताव तयार पारेर प्रदेशसभा बैठकमा पेश गर्ने र मतदान प्रक्रियाबाट अन्तिम टुंगो लगाउने तयारी गरेको छ।
स्थायी राजधानी जनकपुरधामलाई तोक्न लगभग सबै दल सहमत भएकोले प्रदेशसभा बैठकमा निर्णयार्थ पेश गर्न राजधानीको एउटै प्रस्ताव तयार पार्ने आफूहरूको प्रयास रहने लोसपाका प्रदेशसभा सदस्य परमेश्वर साहले बताए।
नामकरणबारे दलहरूको फरक फरक प्रस्ताव रहे पनि सहमतिबाट एउटै प्रस्ताव तयार पारेर निर्णयार्थ पेश गर्न आफूहरूले पहल गर्ने उनको भनाइ छ।
सहमति नजुटे समितिमा आएका सबै प्रस्तावहरू प्रदेशसभा बैठकमा निर्णयार्थ पेश हुने उनको भनाइ छ। प्रदेशसभाको तेस्रो अधिवेशनका बेला पनि नाम र राजधानीको टुंगो लगाउन दलहरूबीच सहमति नजुटेपछि सभामुख यादवकै अध्यक्षमा विशेष समिति गठन गरिएको थियो। तर, विशेष समितिले पनि सहमति नजुटेपछि नाम र राजधानीबारे फरक फरक प्रस्तावहरू प्रदेशसभा बैठकमा पेश भएका थिए। तर, कुनै पनि प्रस्ताव दुई तिहाइ मतले पारित हुन नसकेपछि प्रदेशको स्थायी राजधानी र नाम टुंगो लाग्न सकेको थिएन।
तेस्रो अधिवेशनमा सुरूमा नाम र त्यसपछि स्थायी राजधानीको प्रस्ताव पेश भएको थियो। इतर दलहरूले तत्कालीन सत्तारुढ दल संघीय समाजवादी पार्टी र राजपाले प्रस्ताव गरेको ‘मधेश प्रदेश’ को पक्षमा मतदान नगरेपछि जनकपुरधामलाई स्थायी राजधानी तोक्ने प्रस्ताव पनि पारित हुनसकेको थिएन।
तर, यसपटक पहिले स्थायी राजधानी र त्यसपछि नामसम्बन्धी प्रस्ताव निर्णयार्थ पेश हुने विशेष समितिका एक सदस्यले जानकारी दिए। स्थायी राजधानीको प्रस्ताव निर्णयार्थ पेश भइसकेपछि प्रदेश नामकरणको प्रस्ताव पेश गर्ने तयारी गरिएको छ।