काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । पुनले बंगाणुगत तथा विश्वमा विरलै देखिने जण्डिस रोगको चीनको सेनजेनमा उपचार गराइरहेका छन् । स्वास्थ्यमा उल्लेख्य सुधार आएसँगै पुनले चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा उपमन्त्री चेन झाओबीच भेटवार्ता गरेका छन् ।
उपमन्त्रीसहितको चिनियाँ टोलीसँगको भेटवार्ताका क्रममा पूर्व सभामुख तथा माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्ती पनि सहभागि भएकी थिइन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको परामर्शमा नेता पुनले चिनियाँ उपमन्त्रीसँग दुई देशबीचको सम्बन्ध, चिनियाँ कम्युनिष्ट पार्टी र माओवादी केन्द्रको सम्बन्ध विस्तार लगायतका विषयमा विस्तृत छलफल गरेको नेता पुनले बताए ।
‘उहाँहरुले माओवादीको आठौं राष्ट्रिय महाधिवेशनको सफलताको शुभकामना दिनुभयो, अध्यक्ष प्रचण्डको नेतृत्वमा माओवादी अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै चिनियाँ कम्युनिस्ट पार्टी र नेकपा माओवादी केन्द्र सवैभन्दा नजिकका मित्र भएकाले आगामी दिनमा यो सम्बन्ध अझ बलियो बनाउने कुरा गर्नुभयो,’ नेता पुनले भने, ‘नेपालको समसामयिक राजनीति, वामपन्थीहरुबीचको सहकार्य र एकता, अगामी चुनावमा हुने तालमेल, तथा वाम घटकहरुका बीचको पार्टी एकताका विषयमा पनि चिनियाँ मन्त्रीले चासो राख्नुभयो ।’
चिनियाँ पक्षको जिज्ञासाको जवाफमा नेता पुनले विचार मिल्ने तथा असल क्रान्तिकारी कम्युनिष्टहरुका बीचमा पार्टी एकता गर्ने, त्यो संभव नभए सहकार्य र गठबन्धन गरेर आगामी चुनाव र त्यसभन्दा पछिसम्म जानका लागि माओवादी तयार रहेको बताएका थिए ।
विगतमा एमाले अध्यक्ष केपी ओलीको संविधान विरोधी, पार्टीको विधान र सहकार्यको भावना विरोधी गतिविधिका कारण नेकपा एकताले निरन्तरता पाउने नसकेको र अहिले पनि ओलीकै कारण एमालेसँग सहकार्य संभव नभएको बताएका नेता पुनले ओली गुणात्मक रुपमा रुपान्तरण भएर आएमा सहकार्यका लागि छलफल गर्न सकिने बताएका थिए ।
चिनियाँ पक्षले नेपालका बामदलहरु एक भएर अघि बढून् भन्ने शुभेच्छा व्यक्त गरेको नेता पुनले जानकारी दिए ।