काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका धनुषा जिल्लाका नेता कार्यकर्ताहरुले पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् । सोमबार लोसपाको केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ताहरुले पार्टी अध्यक्ष महन्थ ठाकुरले मनोमानी ढंगले प्रदेश र जिल्लाहरुमा पदाधिकारी चयन गरेको भन्दै शान्तिपूर्ण धर्ना दिएका हुन् ।
धर्ना कार्यक्रममा उपस्थित लोसपा कार्यकर्ता बिन्दु ठाकुरले अध्यक्षले गरेको निर्णय स्वीकार्य हुन नसक्ने भन्दै निर्णयलाई सच्याउन जोड दिइन्। एक व्यक्ति एक पदको कुरा पार्टीमा लागू गरेर पार्टीलाई सबल बनाउनुपर्ने ठाकुरको भनाइ भए पनि त्यस अनुसार नगरिएको उनको भनाइ छ। 'जिम्मेवारी त तोकियो। तर कसैसँग सल्लाह गरिएन। कुनै मापदण्ड तयार नगरी के आधारमा जिम्मेवारी दिइयो भन्ने हाम्रो प्रश्न हो', तत्कालीन जसपाको धनुषाको अध्यक्ष मण्डलको संयोजक समेत भइसकेका संजय सिंहले बताए।
ठाकुरले जितेन्द्र सोनललाई प्रदेश २ को अध्यक्ष बनाएका छन्। त्यस्तै, विभिन्न जिल्लाका अध्यक्ष र पर्यवेक्षक तोकेका छन्। झापामा अनुत राजवंशी, सप्तरीमा सुनिल झा, रौतहटमा लिला साह, बारामा नवल किशोर सिंह, पर्सामा पुरुशोत्तम झा, कपिलवस्तुमा कैलाश अग्रहरी, मोरंगमा मो. कादिर, सिरहामा राम दयाल यादव, धनुषामा परमेश्वर साह, महोत्तरीमा रामबाबु साह, सर्लाहीमा राम प्रसाद राय र दांगमा हेतराम चौधरीलाई अध्यक्ष तोकेका छन्।
ती सबै जिल्लामा एकएक जना पर्यवेक्षक पनि तोकिएका छन्। लोसपा गठन भएको चार महिना पुग्दा समेत ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका छैनन्। अन्य संरचना पनि गठन भएको छैन। तर ठाकुरले भने आफूखुसी जिम्मेवारी तोकेपछि कार्यकर्ताहरु असन्तुष्ट भएका हुन्। धर्नामा धनुषा र महोत्तरीका झन्डै ७० जना नेता तथा कार्यकर्ताको उपस्थिति रहेको सिंहले बताए। आफूहरुले ठाकुरलाई भेटेर छलफल गरी समस्याको समाधान गर्ने रणनीति बनाएर काठमाडौं आएको उनले बताए। तर ठाकुरसँग भेट हुन पाएको छैन।