काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसियसनले आफ्नो आन्दोलन जारी राखेको छ । आइतबार पनि सर्वोच्च अदालत परिसरमा बारले आन्दोलन गरेको हो ।
आन्दोलनपछि सञ्चारकर्मीहरुसँग बोल्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले स्वतन्त्र र स्वच्छ न्यायपालिका मानवअधिकारको मेरुदण्ड भएकोले न्यायपालिकाभित्र विकृति, विसंगति हुन नहुने बताए । उनले न्यायपालिकाभित्र विकृति, विसंगति तथा अनियमितता, भ्रष्टाचार र बिचौलियाहरुले प्रवेश पाएको र प्रभाव बढ्दै गएका कारण न्यायपालिकाको स्वतन्त्रतामाथि गम्भीर प्रहार भएकोसमेत बताए ।
अध्यक्ष श्रेष्ठले न्यायपालिकाको स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, जवाफदेहिता कायम गर्न र न्यायमा सबैको समान पहुँच सुनिश्चित गर्न न्यायपालिकाभित्रको अनियमितता, भ्रष्टाचार एवं बिचौलिया अन्त्य गर्नका लागि आवश्यक कदम चाल्न सम्बन्धित सबैको ध्यानाकर्षण गराए ।
न्याय सम्पादनको बाधकको रुपमा प्रधानन्यायाधीश जबराले राजीनामा नदिँदा पनि न्याय सम्पादनमा उनको हक खोसिएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।
सर्वोच्च अदालत बार एसोसियसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश जबरा र परिवारको सम्पत्ति शुद्धीकरणका लागि नेताहरु सम्पत्ति शुद्धीकरण कार्यालयमा जाने तयारीमा रहेको बताए । उनले सम्पत्ति शुद्धीकरण आयोगबाट छानविन गर्न बारले पनि सहयोग गर्ने बताए ।
प्रधानन्यायाधीश जबराको राजीनामाको माग गर्दै नेपाल बार एसोसियसन, सर्वोच्च अदालत बार एसोसियसनका पदाधिकारीहरुसहित कानुन व्यवसायीहरुले कात्तिक १४ गतेदेखि हातमा कालोपट्टी बाँधेर विरोध पदर्शन गर्दै आएका छन् ।