काठमाडौं । सर्लाहीको छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सर्लाहीको नवलपुर–मलंगवा सडक खण्डअन्तर्गत हरिपुर नगरपालिका–६, लक्ष्मीपुरमा साइकलको ठक्करबाट एक महिलाले ज्यान गुमाएको हो ।
बाटो काट्दै गरेकी सोही स्थान निवासी अन्दाजी ५५ बर्षकी सैफुल खातुनलाई साइकलले ठक्कर दिएको थियो । साइकलको ठक्करबाट टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी खातुनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो ।
ठक्कर दिने साइकल र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यस्तै महिलाको शव परीक्षणको लागि जनकपुरस्थित अस्पतालमै राखिएको परिवारजनले जनाएका छन् ।
यस्तै सर्लाहीको ईश्वरपुरमा भएको सवारी दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ । पूर्वपश्चिम लोकमार्गस्थित ईश्वरपुर नगरपालिका–१२, बाँके जंगलमा भएको सवारी दुर्घटनामा लालबन्दी नगरपालिका–७, बस्ने ५६ बर्षका भीम गुरुङको मृत्यु भएको हो ।
सोही दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । उन्को अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । गएराति अबेर नम्बर नखुलेको सानो सवारीले उनीहरु सवार ना ३४ प ७० २१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
घटनालगतै मोेटरसाईकल चालक लालबन्दी नगरपालिका–३, निवासी ४२ बर्षका जितन चौधरीलाई लालबन्दीस्थित मोडल अस्पताल पुइएको थियो । उनको शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।
गम्भीर अवस्थाका गुरुङलाई भने जिल्ला अस्पताल मलंगवा पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
घटनामा संलग्न ठक्कर दिने सवारी फरार रहेको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।