काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा घडियाल संरक्षण तथा प्रजनन केन्द्र स्थापना गरिएको छ । सङ्कटापन्न अवस्थामा पुगेको घडियाल गोही संरक्षणका लागि संरक्षण तथा प्रजनन केन्द्र स्थापना गरिएको हो ।
जनसङ्ख्या वृद्धिसँगै बढ्दै गएको मानवीय चाप तथा शहरीकरण एवं औद्योगिकीकरणबाट सृजित जलप्रदूषणलगायत कारणबाट घडियाल गोहीको सङ्ख्या घट्दै गएपछि विसं २०३५ मा कसरामा घडियाल संरक्षण तथा प्रजनन केन्द्र स्थापना गरिएको थियो ।
घडियाल गोहीलाई बगेको सफा पानी तथा आहारको लागि माछा आवश्यक हुनु, सामान्य खालको दबाब पनि सहन गर्न नसक्नु, घडियालको अण्डा तथा बच्चालाई मगर गोहीका साथै पानीमा विचरण गर्ने ठूला खाले कछुवालगायत, स्याल, कुकुरले समेत खाइदिने गर्दा गोहीको सङ्ख्या घटेपछि प्रजनन केन्द्र स्थापना भएको निकुञ्जका पूर्वसहायक संरक्षण अधिकृत एवं संरक्षणकर्मी बेदबहादुर खड्काले बताए ।
स्थापना कालमा नारायणी नदीको बगरबाट घडियालको अण्डा सङ्कलन गरेर यस केन्द्रमा बच्चा हुर्काइएको थियो । केन्द्रमा हुर्किएका घडियालले विसं २०५१ देखि नै निरन्तर रुपमा बच्चा कोरली रहेका छन् ।
हाल निकुञ्जको घडियाल संरक्षण तथा प्रजनन केन्द्रमा ५०२ वटा गोही रहेका छन् । प्रजनन केन्द्रमा एउटा मात्रै वयस्क भाले घडियाल गोही रहेको छ ।
केन्द्रमा १३ वटा वयस्क घडियाल रहेका प्रमुख संरक्षण अधिकृत आचार्यले जानकारी दिए । उनकाअनुसार केन्द्रमा उपवयस्क अवस्थाका १८, किशोरावस्थाका ३४३, साना बच्चा ६० र यस वर्ष जन्मिएका बच्चा ६८ वटा घडियाल गोही रहेका छन् ।