काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय कमिटीमा १२० जना थप गर्ने भएको छ । आगामी पौष ११–१३ देखि सुरु हुने प्रथम राष्ट्रिय सम्मेलनमार्फत १२० सदस्य थप गर्न लागेको हो ।
हाल कायम रहेको १ सय ७९ केन्द्रीय कमिटीमा १२० जना थप गरेर नयाँ संरचनामा जान लागेको बताइएको छ । सम्मेलनबाट आउने २९९ केन्द्रीय कमिटीमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्षसहित १५ जना पदाधिकारी रहने गरी प्रस्तावित विधान बनाइएको छ ।
शान्ति प्रक्रियापछि मोहन वैद्य ‘किरण’ र बाबुराम भट्टराई हुँदा बहुपदीय प्रणालीमा चलेको माओवादी उनीहरु बाहिरिएसँगै लामो समयदेखि अध्यक्ष प्रचण्डको एकल नेतृत्वमा पार्टी सञ्चालन हुँदै आएको थियो ।
वैद्य, भट्टराई, सीपी गजुरेललाई उपाध्यक्ष र रामबहादुर थापालाई महासचिवको जिम्मेवारीसहित पहिलो संविधानसभाताका बहुपदीय प्रणालीमा पार्टी सञ्चालन गरेको थियो । तर, देवप्रसाद गुरुङको संयोजकत्वमा रहेको अन्तरिम विधान संशोधन उपसमितिले १५ पदाधिकारीको संख्याको सिफारिस गरेपछि माओवादी पुनः बहुपदीयमा प्रणालीमा जान लागेको हो ।
१२४ केन्द्रीय सदस्य खुल्ला प्रतिस्पर्धाबाट आउने भए पनि दलित समुदायवाट ४५ जना, युवा ४८, मुस्लिम १५ जनालगायतको आरक्षण कोटा तय गरिसकेको छ ।