काठमाडौं
आज फागुन ७ गते, राष्ट्रिय प्रजातन्त्र दिवस। एक सय चार वर्ष लामो जाहानियाँ राणा शासनको अन्त्य भई प्रजातान्त्रिक व्यवस्था सुरु भएको दिन। यसैको सम्झनामा ७० औ प्रजातन्त्र दिबस विभिन्न कार्यक्रमको आयोजना गरी मनाईदैछ।
वसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू लगायत सहभागी रहने जनाइएको छ। प्रजातन्त्र दिवसका अवसरमा अहिले काठमाडौंको टुँडिखेलमा दिवस मूल समारोह हुँदैछ।
कार्यक्रममा नेपाली सेनाद्वारा तोप र बन्दुकको बढाइ गरिने छ भने प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदप्रति प्रार्थना र स्मरण गरिने छ।यस्तै नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिने गृह मन्त्रालयले जनाएको छ। काठमाण्डौ उपत्यका बाहिरका प्रदेश राजधानी र जिल्लामासमेत विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइँदैछ।
यसैबीच प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाक्षा हासिल गर्न प्रजातन्त्र दिवसले थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा सफल बनाउन सबैलाई एकजुट हुन आह्वान गर्नुभएको छ। प्रजातन्त्र दिवसका अवसरमा शुभकामना दिँदै उहाँले देशको समृद्धि र नागरिकको सुख हासिल गर्ने अभियानमा एकजुट भइ योगदान गर्न सबैसँग आग्रह गर्नुभएको हो।