काठमाडौं । चलचित्र मार्फत सामाजिक न्याय र आम मानिसको हक अधिकारको लागि आवाज उठाएर सर्वसाधारणको ढुकढुकीमा बसेका महानायक राजेश हमाल सोही मुद्दामा गीति चलचित्र मार्फत देखिने भएका छन् ।
महानायक हमालको मूल विद्रोही भूमिकामा माधव न्यौपानेको गीत तथा कथामा बनेको ‘कठै म त कठै’ बोलको गीति चलचित्र छायांकन सम्पन्न भएको छ । काभ्रेको कुशादेवीमा छायांकन गरिएको गीत महिला हिंसाको विभत्स रुप बलात्कारविरुद्ध निर्माण भएको छ । सति प्रथामाथि बनेको चलचित्र झोलाका निर्देशक यादव भट्टराईले निर्देशन गरेको गीति चलचित्रमा खुमन अधिकारी, देवी घर्ती र शान्तिश्री परियारले स्वर दिएका छन् भने मूल भूमिकामा महानायक राजेश हमालसँगै कलाकारहरु सुनिशा बजगाई, उमेश खड्का, लक्ष्मी गिरी र सरिता गिरी रहेका छन् ।
विज्ञान प्रविधिको विकाससँगै मानिस यो चेतनासम्म आइपुग्दा पनि महिलामाथि हेर्ने पितृसत्तात्मक दृष्टिकोण आजका दिनसम्म पनि नबदलिएर महिलामाथि हुने नमिठो अत्याचारविरुद्ध गीत निर्माण भएको निर्देशक यादवकुमार भट्टराईले बताए ।
राज्य व्यवस्था, प्रशासन र राजनीतिक चलखेलका कारण अपराधीहरु संरक्षित गर्ने र पीडितले न्याय नपाउने कारण पीडित कसरी विद्रोही भएर निस्किन्छ र त्यसले समाजमा कस्तो प्रभाव पार्छ भन्ने गीतमा देखाइएको निर्देशक भट्टराईले बताए । ‘बलात्कार जस्तो जघन्य अपराधमा पनि अनुसन्धानमा लापरबाहीका कारण समाजलाई कसरी गाँजेको छ । अपराधी खुलेआमा हिँड्दा पीडितको मानसिक अवस्थाका कारण जुन विद्रोह जन्माउँछ । त्यो विद्रोहले स्वभाविक रुपमा प्रस्तुत हुन्छ भन्ने गीतमा देखाइएको छ,’ उनले भने, ‘पीडितले न्याय नपाउँदा ऊ आफै न्यायका लागि बिद्रोह गर्छ, त्यो अवस्थाको सिर्जना राज्यले नै गरेकाले त्यसबाट निस्किने नतिजाको जिम्मेवारी लिनुपर्छ भन्ने उद्देश्यले सामाजिक चेतनाका रुपमा यो गीत निर्माण भएको छ ।’
महानायक हमालले सामाजिक अन्यायविरुद्ध फरक किसिमको गीति चलचित्रमा काम गरेकाले यसले राम्रो सन्देश दिने बताए । ‘सामाजिक न्यायका लागि यो गीति चलचित्रले सकारात्मक सन्देश दिन्छ भनेरै यसमा काम गरेको हुँ,’ उनले भने ।
गीत २० देखि २५ मिनेटसम्म लामो हुने र पुसभित्र रिलिज गर्ने तयारी गरिएको छ ।