काठमाडौं । नागरिक समाजका अगवा एवम् हाम्रो नेपाल हामी नेपाली अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीले सरकारले एमसीसी पास गर्न खोजे रक्तपात हुने चेतावनी दिएका छन् ।
क्यापिटल एफएमको दैनिक कार्यक्रम फ्रन्टलाइनमा कुरा गर्दै उनले चौतर्फी विरोधका बावजुत सरकारले एमसीसी संसदबाट पारित गरे देशमा रक्तपात हुने चेतावनी दिए ।
‘राजनीतिक दलहरुले साझा एजेण्डा बनाएर एमसीसीलाई अगाडि बढाएन खोजे त्यसका विरुद्धमा आन्दोलन हुन्छ । दलाल र गद्दारी गर्नेहरुका विरुद्धमा बृहत किसिमको आन्दोलन हुन्छ,’ उनले भने, ‘यति गर्दा गर्दै जनाताले एमसीसी गलत हो भन्ने कुरा थाहा हुँदाहुँदै भोलि मुलुकमा असर पर्यो भने जो अहिले एमसीसी पारित गर्छु भनेर हिडेका छन् । उनीहरुलाई नेपाली जताले कारबाही गर्छन् ।’
उनले सत्ता पक्ष दल नेपाली कांग्रेस देश बेचुवा पार्टी भएको पनि आरोप लगाएका छन् । ‘हिजो महाकाली बेच्ने यही कांग्रेस हो । सुस्ताहरु बेच्ने पनि कांग्रेस हो । लिपुलेक र लिम्पियाधुरा आज भारतीय भू–भागमा पार्ने पनि यही कांग्रेस हो । हिजो नेपालको मन्त्रिपरिषदभित्र त्यतिखेरका बिपी कोइरालाले भारतीयहरुलाई राख्ने पनि यही कांग्रेस हो,’ उनले भने, ‘नेपालको क्षेत्रफलभित्र १८ वटा भारतीय क्याम्प राख्ने पनि नेपाली कांग्रेस हो । कांग्रेसको अर्को नाम भनेको देशको गद्दार हो भन्ने कुरा त सिंगो नेपाली जनतालाई थाहा छ ।’
राजनीतिक दलहरुसँग संसदबाट एमसीसी पारित गर्न सक्ने हिम्मत र आट नभएको बताएका छन् । उनले भने, ‘यति राजनीतिक दलहरुसँग हिम्मत र आँट भइ दिएको भए दुई वर्ष अगाडी नै एमसीसी संसदबाट पारित भइसक्थ्यो ।’
जनता एमसीसीका विरुद्धमा छन भन्ने कुरा आफूहरुले बुझाएको झन्डै ८६ लाख हस्ताक्षरले नै प्रमाण्ति गरेको उनले बताएका छन् । उनले एमसीसीका विरुद्धमा झण्डै ८६ लाख जनाले हस्ताक्षर गर्नु कुनै सामान्य कुरा नभएको पनि बताएका छन् ।
साथै उनले नेपाली कांग्रेसलाई आफ्नो परम्परागत चुनाव चिह्न हटाएर नयाँ चिह्न ल्याएर चुनाव जितेर देखाउन चुनौती पनि दिएका छन् । नेपाली कांग्रेसले आफ्नो परम्परागत चुनाव चिह्न रुख हटाएर प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ चुनाव चिह्न ल्याए ३ सिट भन्दा बढी जित्न सक्ने क्षमता नभएको उनले दाबी गरेका छन् ।