काठमाडौं । रवीन्द्र मिश्रको कारबाहीमा परेका विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले तानाशाहीको पतन निश्चित भएको बताएका छन्।
मिश्रको अध्यक्षतामा मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पाण्डेलाई पार्टीको साधारण सदस्यता समेत नरहने गरी बर्खास्त गरिएको घोषणा भएपछि पाण्डेले यस्तो प्रतिक्रिया दिएका हुन् ।
सञ्चारमाध्यमलाई अर्को एक प्रतिक्रिया दिँदै पाण्डेले मिश्रले आज अवैधरूपमा आफ्नो समूहको बैठक बोलाई आफूलाई पार्टी संयोजकबाट निष्कासन गरेको भन्ने समाचारहरूप्रति ध्यानाकर्षण भएको पनि बताएका छन् ।
उनले आफ्नो आस्थालाई कसैले खोस्न र कारबाही गर्न नसक्ने भन्दै आफ्ना लागि राजनीति सत्ताको खेल भन्दा समाजका निम्ति गर्ने योगदान गर्ने अभियान भएको बताएका छन्। यो अभियानमा आफू अझ प्रतिबद्ध रहेको पाण्डेको भनाइ छ।
यसै प्रयोजनमा मंगलबारमात्रै २०१ सदस्यीय ‘विवेकशील साझा पार्टी सुदृढीकरण अभियान’ को केन्द्रीय समिति घोषणा गरिएको भन्दै पाण्डेले यो कुनै समानान्तर समिति नभएको पनि जिकिर गरेका छन्।
उनले कानुनी रूपमा पार्टीभित्रको विवादसम्बन्धी मुद्दा निर्वाचन आयोगले हेरिरहेको भन्दै मिश्र पक्षले बुझाएको किर्ते दस्ताबेजलाई आयोगले खारेज गर्ने पनि विश्वास व्यक्त गरेका छन् ।
उनले पार्टीको विचार त्यागेका, विधान च्यातेका र एकीकरण घोषणापत्र माथि लात हानेका मिश्रलगायतका नेतालाई विवेकशील साझा पार्टीको नाम, चिन्ह र पहिचान प्रयोग गर्ने कुनै अधिकार नभएको भन्दै आफूहरुले पार्टीलाई वास्तविक विचार, नाम, शैली र पहिचानमा निरन्तरता दिने बताएका छन् ।