काठमाडौं । कोभिड –१९ महामारीले नेपालमा बालबालिकाको स्वास्थ्य, सिकाइ र मनोसामाजिक अवस्थालाई असर पारेको युनिसेफको एक अध्ययनले देखाएको छ।
कोभिड–१९ महामारीको अवधिमा नेपालका २ देखि ४ वर्ष उमेर समूहका प्रत्येक पाँच जना बालबालिकामध्ये एक विकासको लयभन्दा बाहिर रहेको युनिसेफको नयाँ तथ्यांकले देखाएको हो। अगस्ट महिनामा गरिएको प्रारम्भिक बाल विकास सूचांक सर्वेक्षणले ग्रामीण क्षेत्रमा बसोबास गर्ने बालबालिका, कम आय भएका परिवारका बालबालिका, अशिक्षित वा न्यून शिक्षास्तर भएका हेरचाहकर्ताहरूको रेखदेखमा रहेका बालबालिका र प्रारम्भिक बाल शिक्षा कार्यक्रमहरूमा सहभागी नभएका बालबालिका विकासको लयभन्दा टाढिने उच्च जोखिममा रहेको जनाएको छ।
फोनमा आधारित यो सर्वेक्षण हो । २ देखि ४ वर्ष उमेर समूहका बालबालिकाको विकास आवश्यकता र स्थिति बुझ्नको लागि राष्ट्रव्यापी रूपमा बालबालिका भएका २८५३ घरधुरीहरूमा अध्ययन गरिएको थियो।
हेरचाहकर्ताहरूसँग किताबहरू पढ्ने, कथाहरू सुनाउने, गीत गाउने, घुम्न जाने, वस्तुहरूको नाम भन्ने, गन्ने, वा चित्र कोर्ने जस्ता बालबालिकाको चेतनालाई प्रस्फुटित गर्ने खालका प्रारम्भिक क्रियाकलापहरू उनीहरूको विकास र सिकाइको लागि महत्त्वपूर्ण भएको सर्वेक्षणबाट पाइएको छ।
तथ्याङ्कले पूर्व–महामारी अवस्थाको तुलनामा अभिभावकको संलग्नतामा कमी आएको खुलासा गरेको छ। सर्वेक्षण गरिएकामध्ये आधा जति बालबालिका पूर्वप्राथमिक तहमा भर्ना भएको पाइएको छ । यद्यपि, विद्यालय बन्द हुँदा ३४ प्रतिशत बालबालिका वैकल्पिक विधिबाट सिकाइमा संलग्न भएका थिएनन्। रेडियो, टिभी र टेलिफोनमा आधारित शिक्षण सिकाई जस्ता न्यून–प्रविधि सहितका समाधानहरू पनि कम मात्रै प्रयोग भए।
घर र विद्यालयमा सिकाइलाई सक्षम बनाउन प्रयोगकर्तामैत्री मूल्यांकन तथा पढाइ सिकाइ निर्देशिकामार्फत प्रत्येक बालबालिकाको व्यक्तिगत विकास र सिकाइ स्तर बुझ्न शिक्षक र अभिभावकहरूलाई सहयोग पुग्ने प्रणालीहरूको विकास गर्ने, अभिभावकहरूले बालमैत्री पुस्तकहरू पढ्ने, कथाहरू सुनाउने, गीत गाउने, बालबालिकालाई घुमाउन लैजाने, उनीहरूसँग खेल्ने, वस्तुहरूको नामकरण गर्ने, चिजहरू गन्ने वा सँगै चित्र कोर्ने जस्ता गतिविधिहरू गरेर बालबालिकाको चेतनालाई प्रस्फुटित गर्ने खालका प्रारम्भिक क्रियाकलापहरूमा वृद्धि गर्ने लगायतका सुझाव युनिसेफको सर्वेक्षणले दिएको छ ।