काठमाडौं । पोखराका पर्यटन व्यवसायीले पोखरा घुम्न जाने पर्यटकले आफूलाई सुरक्षित महसुस गर्ने वातावरण तयार गर्न आवश्यक रहेको बताएका छन् । अन्तरक्रियात्मक अनुशिक्षण एक कार्यक्रमका सहभागी व्यवसायीले पूर्वाधार र पर्यटकमैत्री वातावरण बनाउन आवश्यक रहेको बताएका हुन् ।
पर्यटकले सुरक्षालाई पहिलो प्राथमिकता दिने भएकाले भयरहित वातावरणमा हिँडडुल गर्ने वातावरण बनाउनुपर्नेमा उनीहरुले जोड दिएका हुन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटन क्षेत्रले विभिन्न कठिनाइको सामना गर्नुपरिरहेको उल्लेख गर्दै पर्यटकका लागि शान्ति सुरक्षा पहिलो सर्त भएको बताएका छन् ।
पर्यटकले घुमफिर गर्दा सुरक्षित महसुस गर्न सके मात्र पर्यटकीय गतिविधि बढ्ने भएकाले सुरक्षालाई प्राथमिकतमा राख्नुपर्ने उनले बताए । कुनै पनि आपराधिक घटनाले सिङ्गो पर्यटन क्षेत्र नै बदनाम हुने भएकाले पर्यटक घुम्न आउँदा सुरक्षाको प्रत्याभूत गराएर निर्धक्क हिँड्न वातावरण तयार गर्नुपर्नेमा भट्टराईले जोड दिए।
शान्ति सुरक्षाका लागि परिषद् समन्वय गरेर अघि बढ्न तयार रहेको उनको भनाइ थियो । लेकसाइडका अधिकांश सोलार बत्ती नबल्ने र साँझ परेपछि अन्धकार देखिने समस्या भएपछि व्यवसायीकै पहलमा १६ लाख खर्चेर बिजुली बत्तीको व्यवस्थापन गरेको उनले स्पष्ट पारे ।
सरकारले व्यवसायीको मर्का बुझेर प्रभावकारी नीति ल्याउन नसकेको जनाउँदै उनले मौद्रिक नीतिको कार्यान्वयन नहुँदा व्यवसायी निराश बनेको बताए । गण्डकी प्रदेशका प्रहरी नायब महानिरीक्षक दिवेश लोहनीले पर्यटकीय नगरी पोखरालाई शान्ति सुरक्षा अमन चैनको प्रत्याभूतसहित सुरक्षित गन्तव्यका रुपमा चिनाउन पर्यटन व्यवसायीहरुको साथ र समन्वयको खाँचो रहेको भएकाले सो वातावरण तयारका लागि व्यवसायी र प्रहरीबीच समन्वय आवश्यक रहेको बताए।
पर्यटन व्यवसायीलाई होटलमा आउने पर्यटकको पहिचान खुल्ने कागजपत्र लिएर मात्र राख्न उनले आग्रह गरे । एक जनाले बुकिङ गरेपछि पाँच÷छ जनालाई सहजरुपमा बस्न दिने, सीसी क्यामेराको व्यवस्थापन नगर्ने जस्ता कमजोरीले आपराधिक घटनाको अनुसन्धानमा चुनौती थपिएको लोहनीको भनाइ छ ।