काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य खुलातर्फ सभापति शेरबहादुर देउवापक्षका २६ जना निर्वाचित भएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा सम्पन्न मतगणनामा ३५ सदस्यीय खुला केन्द्रीय सदस्यमा देउवापक्षका २६ जना निर्वाचित भएका हुन् ।
यस्तै, बाँकी ९ जना शेखर कोइरालापक्षका निर्वाचित भएका छन्। केन्द्रीय सदस्य खुलातर्फ ३५ पदका ९९ जना प्रतिस्पर्धा गरेका थिए। जसमध्ये देउवापक्षका एनपी साउद, बालकृष्ण खाण, उदयशम्शेर राणा, रामहरी खतिवडा, उमेश जङ्ग रायमाझी, कृष्णकिशोर घिमिरे, डा.गोपाल दहित र मोहन आचार्य, रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भए।
यस्तै, देउवापक्षकै शंकर भण्डारी, गोपालमान श्रेष्ठ, जितजंग बस्नेत, नैनसिंह महर,जिपछिरिङ लामा, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, गुरु बराल, मोहनबहादुर बस्नेत, राजीव ढुंगाना, गणेश लामा, मदन अमात्य, गोविन्द भट्टराई र कुन्दनराज काफ्ले पनि निर्वाचित भएका छन्। यता, शेखरपक्षबाट शशाङ्क कोइराला, अर्जुन नरसिंह केसी, डा रामशरण महत, बलबहादुर केसी, दीपक गिरी, डा गोविन्द पोखरेल, सञ्जय गौतम, दिनेश कोइराला र अजयबाबु सिवाकोटी निर्वाचित भएका छन्।